सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ घाइते

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

काठमाडौँ– सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बस दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ३१ वर्षीय सुमित्रा सुनार र सल्यानको त्रिवेणि गाउँपालिका–६ बस्ने अन्दाजी ४० वर्षीया अनिता बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

जिल्ला प्रहरी कार्यालय, सल्यानका अनुसार शनिबार दिउँसो करिब ३ बजे ना६ख ५४६३ नम्बरको बस दुर्घटना हुँदा अरू १४ जना घाइते भएका छन्। 

“दुई जनाको ज्यान गएको छ। १४ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको छ,” जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने, “घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।”

दाङको तुलसीपुरबाट सल्यानको जयचौरका लागि छुटेको उक्त बस सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानीनजिकै दुर्घटना भएको उनले बताए।