खेलकुद विश्वविद्यालय स्थापनाका लागि सरकारसँग छलफल गर्ने माधव नेपालको प्रतिबद्धता

तल्लो तहदेखि नै खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सके खेलाडीको टिम राम्रो बन्ने एकीकृत समाजवादी अध्यक्ष नेपालको भनाइ थियो।

काठमाडौँ– सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खेलकुद विश्वविद्यालय स्थापनाका लागि आफूले सरकारसँग छलफल गर्ने प्रतिबद्धता जनाएका छन्।

पार्टीनिकट नेपाल खेलकुद महासंघ समाजवादीले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा खेलकुद क्षेत्र मुलुकको इज्जत, मान र प्रतिष्ठानसँग जोडिएकाले त्यसको विकासका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताएका हुन्।

“तपाईंहरूले उठाउनुभएको छ विश्वविद्यालयको स्थापना। छुट्टै हस्पिटलको व्यवस्था। यी सबै खेलाडीहरूको हकहितका लागि हो। त्यसमा सरकारसँग छलफल गरौँला,” उनले भने।

उनले खेलक्षेत्रको विकासका लागि विशेष ध्यान दिन स्थानीय सरकारलाई पनि आग्रह गरे। तलैदेखि खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सके खेलाडीको टिम राम्रो बन्ने अध्यक्ष नेपालको भनाइ थियो। उनले खेलाडीलाई हौसला प्रदान गर्न, प्रोत्साहित गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उल्लेख गरे।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले खेलकुद क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्नु विडम्बना भएको बताए। उनले खेलकुदक्षेत्रको पूर्वाधार विकासमा सक्दो सहयोग गर्ने आश्वासन दिए।

“खेलकुद क्षेत्रका राष्ट्रिय महत्त्वका अन्तराष्ट्रियस्तरका क्रिकेट रंगशाला लगायतका आयोजनालाई चैँ सम्बोधन गर्ने किसिमले मेरोतर्फबाट क्याबिनेटको एउटा सदस्यको नाताले मेरो प्रयास रहन्छ। म तपाईंहरूका बीचमा यो प्रतिबद्धता जनाउन चाहन्छु।” उनले खेलाडीको स्तर वृद्धिका लागि आवश्यक पहल गर्ने पनि दाबी गरे।