यूएन, ईयू, अमेरिका, भारत, रुसलगायत देशले हमासले इजरायलमाथि गरेको आक्रमण तत्काल रोकेर बृहत् तथा स्थायी शान्तिका लागि दुवै पक्षलाई आह्वान गरेका छन्। इरानले भने हमासको पक्षमा समर्थन जनाएको छ।
संयुक्त राष्ट्रसंघ (यूएन)ले गाजापट्टीमा शनिबार भएको घटनाले विश्व समुदायलाई चिन्तित बनाएको बताएको छ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुख भोल्कर तुर्कले भने, “म हिंसा तत्काल रोक्न आह्वान गर्दछु र थप रक्तपात हुन नदिन सबै पक्ष र यस क्षेत्रका प्रमुख देशहरूलाई तनाव कम गर्न अपिल गर्दछु।” उनले इजरायली नागरिकलाई बन्धक बनाइएको भन्ने खबरप्रति आफू निकै चिन्तित रहेको बताए।
प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो। गाजापट्टीमा भएको आक्रमणमा कम्तीमा ४० जनाको ज्यान गएको छ। आक्रमणपछि हमाससँग युद्ध भइरहेको बताइएको छ।
अमेरिकाले इजरायलविरुद्ध हमास ‘आतंककारी समूह’का लडाकुले गरेको आक्रमणको ‘स्पष्ट शब्दमा’ निन्दा गरेको ह्वाइट हाउसले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हमासका आतंककारीहरूले इजरायली नागरिकमाथि गरेको अकारण आक्रमणको संयुक्त राज्य अमेरिका कडा एवं स्पष्ट शब्दमा निन्दा गर्दछ।”
राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीसँग कुरा गर्दै यस अभियानको बारेमा इजरायली साझेदारहरूसँग घनिष्ठ सम्पर्कमा रहने बताए।
वाट्सनले भने, “हामी इजरायल सरकार र जनताको साथमा दृढतापूर्वक उभिएका छौँ र यी आक्रमणमा ज्यान गुमाएका इजरायलीका आपन्तजनप्रति समवेदना प्रकट गर्दछौँ।”
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकूसमूहले गरेको आक्रमणपछि आफ्नो देश इजरायलसँग ऐक्यबद्धताका साथ उभिएको बताएका छन्। “इजरायलमा आतंकवादी हमलाको खबरले म स्तब्ध भएको छु,” मोदीले ट्विटरमा लेखेका छन्, “यस कठिन घडीमा हामी इजरायलको साथमा छौँ।”
त्यसैगरी, ब्रसेल्सबाट प्राप्त समाचारमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि गरेको आक्रमणपछि युरोपेली संघ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले शनिबार सर्वसाधारणलाई बन्धक बनाउने कार्यलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै निन्दा गरे। उनले एक्स (ट्विटर) मा लेखेका छन्, “नागरिकहरूलाई उनीहरूको घर वा गाजामा बन्धक बनाइएका समाचारहरू डरलाग्दो छन्। यो अन्तर्राष्ट्रिय कानूनविपरीत छ। बन्धक बनाइएकाहरूलाई तुरुन्तै रिहा गर्नुपर्छ।”
रूसी विदेश मन्त्रालयले ‘युद्ध’लाई तत्काल रोक्न र बृहत् तथा स्थायी शान्तिको लागि आग्रह गरेको छ।
आक्रमणप्रति बेलायत, फ्रान्स, जर्मनी, यमनलगायतका विश्व समुदायले पनि चासो व्यक्त गरिसकेका छन्। उनीहरूले प्यालेटिनी क्षेत्रमा भएको युद्ध अन्त्यका लागि कामना गरेका छन् भने स्थायी शान्ति कायम गर्न द्वन्द्वरत दुवै पक्षसँग आह्वान गरेका छन्।
साउदी अरबको विदेश मन्त्रालयले दुई पक्षबीचको तनाव तत्काल रोक्न, नागरिकको सुरक्षा र आत्मसंयमका लागि आह्वान गरेको छ। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “साउदी अरबले दुई पक्षबीचको तनाव तत्काल रोक्न, नागरिकको सुरक्षा र आत्मसंयमका लागि आह्वान गर्दछ। प्यालेस्टाइनी जनतालाई उनीहरूको वैध अधिकारबाट निरन्तर वञ्चित गरिँदा विस्फोटक स्थितिको खतरा उत्पन्न भएको छ।”
इरानद्वारा हमासद्वारा इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ। इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेका छन्।
“हामी यो अभियानलाई समर्थन गर्दछौँ,” याह्या रहिम सफावीले उद्धृत गर्दै आईएसएनए समाचार एजेन्सीले लेखेको छ। सफावीले प्यालेस्टाइन र जेरुसेलमको मुक्ति नभएसम्म प्यालेस्टाइनी लडाकूलाई समर्थन गरेको बताए। शनिबार संसद्को बैठकमा इरानी सांसदहरूले ‘डाउन विथ इजरायल’, ‘डाउन विथ अमेरिका’ र ‘वेलकम प्यालेस्टाइन’ जस्ता नारा लगाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
