प्यालेस्टिनी आक्रमणमा इजरायलमा रहेका ९ नेपाली घाइते

नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि दूतावासको इजरायली अधिकारीसँग सम्पर्क र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयको भनाइ छ।

काठमाडौँ– प्यालेस्टिनी सैन्य समूह हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा त्यहाँ कार्यरत ९ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।

परराष्ट्र मन्त्रालयले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै १४ जना नेपालीहरू रहेको कृषि फार्ममा आक्रमण भएको र सो क्रममा ९ जना घाइते भएको जनाएको हो। घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ।

“१४ जना नेपाली काम गरिरहेको फार्ममा पनि आक्रमण भएको जानकारी पाएका छौँ। नौ जना नेपाली घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको छ,” विज्ञप्तिमा भनिएको छ। थप विवरणहरू पछि सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग सम्पर्क गरिरहेको पनि मन्त्रालयले जनाएको छ। नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि दूतावासको इजरायली अधिकारीसँग सम्पर्क र समन्वय भइरहेको मन्त्रालयको भनाइ छ।

“स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकलाई सतर्क रहन र अधिकारीहरूले सुझाव दिएको सुरक्षा उपायहरू पालना गर्न अनुरोध गरिएको छ,” विज्ञप्तिमा भनिएको छ।

सरकारले इजरायलमा शनिबार कैयौँ व्यक्तिको ज्यान जाने गरी भएको आतंकवादी हमलाको घोर भर्त्सना गर्दै यो परिस्थितिमा इजरायलसँग ऐक्यबद्धताका साथ उभिएको बताएको छ।

एपी न्यूजले इजरायलको राष्ट्रिय उद्धार सेवालाई उद्धृत गर्दै आतंकवादी समूह हमासले गरेको आक्रमणमा कम्तिमा ७० जनाको मृत्यु भएको र सयौँ घाइते भएको उल्लेख गरेको छ।

म्यागेन डेभिड एडोम इमर्जेन्सी मेडिकल सर्भिसले भनेको छ, “मृतकको संख्या ७० पुगेको छ र सयौँ घाइते भएका छन्। घाइतेहरू गम्भीर, मध्यम र सामान्य प्रकृतिका छन्।” 

यता, इजरायलको जवाफी कारबाहीमा गाजापट्टीमा कम्तिमा १९८ जनाको मृत्यु भएको गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्व समुदायले इजरायलमाथिको आक्रमणको निन्दा गर्दै स्थायी शान्तिका लागि दुवै पक्षलाई आह्वान गरेका छन्।