तुइनको डोरी चुँडिएर कर्णालीमा खस्दा १ मजदुर बेपत्ता

हुम्लाको सर्केगाड–२ रिपस्थित खडीखेत घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा नदीमा खसेर मुगुका ३८ वर्षीय मक्करसिंह नेपाली बेपत्ता भएका छन्। 

सांकेतिक तस्वीर

काठमाडौँ– हुम्लाको सर्केगाड गाउँपालिकास्थित कर्णाली नदी तर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन्। 

सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर ३८ वर्षीय मक्करसिंह नेपाली बेपत्ता भएका हुन्।

मुगुको सोरु गाउँपालिका–५ नेरगाउँ निवासी घर फर्किने क्रममा तुइनबाट खसेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीले जानकारी दिए।

“नेपाली सेनाले कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गरिरहेको छ। त्यहीँ काम गरेर फर्किने क्रममा उहाँ बेपत्ता हुनुभएको हो। खोजी कार्य भइहेको छ,” कार्कीले उकालोसँग भने, “उक्त तुइन सेनाले नै बनाएको हो। त्यहाँ पुल बनाउन सम्भव छैन। 

कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका छन्।