जंगलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी

सरकारले प्रोत्साहनका कार्यक्रम ल्याए पनि बजारीकरणमा भने ध्यान नदिएको उद्यमीको गुनासो छ।

किमाथांका– संखुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ। कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ। 

उनीहरूले गर्ने उद्यमको माग बजारमा दिनप्रतिदिन बढिरहेको छ। अल्लो व्यवसायले धेरैलाई रोजगारसमेत बनाएको छ। अल्लो उद्योगमा स्थानीयले रोजगारी प्राप्त गरेको उद्यमी कृष्णकुमारी राईले जानकारी दिइन्। 

उनले आफ्नो उद्योगमा १० जना बढीलाई रोजगारी दिएकी छन्। अल्लो व्यवसायसँग प्रत्यक्ष–अप्रत्यक्ष ३०० बढी रोजगारमा जोडिएका छन्। सरकारले प्रोत्साहनका कार्यक्रम ल्याए पनि बजारीकरणमा ध्यान नदिएको आरोप उद्यमीको छ। बर्सेनि ग्रामीण भेगको जंगलमा खेर गइरहेको अल्लो संकलन र सदुपयोगबाट दुर्गम भेकका स्थानीयको अल्लो व्यवसायबाट जीविकोपार्जनको प्रमुख स्रोत भएको उनको भनाइ छ। 

जिल्लाको माथिल्लो भेगमा पाइने अल्लोको धागोबाट उत्पादन भएको कपडाले जिल्ला देश तथा विदेशसम्म चिनाएको छ। अल्लो कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको बजार पर्याप्त भएको हो। बाहिरी जिल्लाबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले नातेदार र साथीलाई अल्लोको कपडा र सामान उपहारस्वरूप लगिदिने चलन छ। तर, पछिल्लो समय उत्पादन बढेकाले यो बजार पर्याप्त नहुने उद्यमी बताउँछन्। सरकारले यसमा ध्यान दिनुपर्ने राईको भनाइ छ। जिल्लामा तीन दर्जन बढी अल्लो उद्योग व्यावसायिक रूपमा सञ्चालनमा छन्।

अल्लो खेती २०४६ देखि व्यावसायिक रूपमा गर्न थालिएको हो। स्थानीय संस्कृतिसँग जोडिएको अल्लो उत्पादनको प्रवर्द्धन र विकास भइरहेको छ। अल्लोबाट कात्तिकदेखि जेठसम्म पाट संकलन गरेर धागो बनाइन्छ। यसरी धागो बनाएपछि कपडा उत्पादन हुने र यो देशका विभिन्न बजार हुँदै अमेरिका तथा जापानसम्म निर्यात हुन थालेको राईले बताइन्। 

अल्लोबाट बनेको कोट तीन हजार, टोपी ५००, सल ७००, स्यान्डल ५००, स्टकोट एक हजार ५०० रुपैयाँमा बिक्री हुने गरेको छ। मफलर, पर्स, चस्मा, लेडिज पर्स, लेडिज झोला र साइड झोला बनाउन अल्लो प्रयोग गरिन्छ। यीबाहेक कपडाबाट बन्ने प्रायः सबै सामान अल्लोबाट बनाउने र बिक्री गरिन्छ। 

गाउँमा बुनेका कपडा सदरमुकाम खाँदबारी हुँदै विराटनगर र काठमाडौँसम्मका डिपार्टमेन्ट तथा मिनी सुपर मार्केटमा पर्याप्त पाइन्छ।