अफगानिस्तानमा शक्तिशाली भूकम्प: १०० जनाको मृत्यु, ५०० बढी घाइते

भूकम्पबाट ६०० परिवारका चार हजार २०० मानिस प्रभा‍वित भएका छन्।

तस्वीर: एएफपी

पश्चिमी अफगानिस्तानमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १०० जनाको मृत्यु भएको छ।

भूकम्पमा ५०० जना घाइते भएको सीएनएनले जनाएको छ। अफगानिस्तानको तेस्रो ठूलो हेरात प्रान्तको हेरात शहरबाट ४० किलोमिटर पश्चिममा ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

प्रारम्भिक भूकम्पको धक्का छिमेकी प्रान्त बद्घिस र फराहमा पनि महसुस गरिएको थियो। त्यसपछि धेरै पराकम्पहरू गएका थिए।

भूकम्पमा करिब ५०० घर ध्वस्त भएको मानवीय मामिला समन्वयको लागि संयुक्त राष्ट्रसंघ कार्यालय (ओसीएचए) ले जनाएको छ। 

त्यस्तै, हालसम्म ६०० परिवारका चार हजार २०० मानिस प्रभावित भएको तथ्यांक प्राप्त भएको ओसीएचएको भनाइ छ।