प्यालेस्टिनी आक्रमण भएको क्षेत्रमा रहेका १७ नेपाली विद्यार्थीमध्ये १२ जना सम्पर्कविहीन

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना कृषिका विद्यार्थीमध्ये आक्रमण भएको स्थानमा १७ जना कार्यरत रहेकोमा दुई जना सकुशल भएको, तीन जनाको उपचार भइरहेको र बाँकी १२ जना सम्पर्कविहीन भएको उनले जानकारी दिए

काठमाडौँ– प्यालेस्टिनी सैन्य समूह हमासले शनिबार बिहान इजरायलमाथि गरेको आक्रमणमा परेर त्यहाँ कार्यरत १२ जना नेपाली सम्पर्कविहीन भएको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसबारे जानकारी गराएका हुन्।

गाजा क्षेत्रनजिक पर्ने दक्षिणी इजरायलको अलुमिन किबजुस्थित नेपाली विद्यार्थी कार्यरत रहेको कृषि फार्ममा आक्रमणपछि १२ जना सम्पर्कविहीन भएको उनले बताए। 

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना कृषिका विद्यार्थीमध्ये आक्रमण भएको स्थानमा १७ जना कार्यरत रहेकोमा दुई जना सकुशल भएको, तीन जनाको उपचार भइरहेको र बाँकी १२ जना सम्पर्कविहीन भएको उनले जानकारी दिए। 

यसअघि परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ९ जना घाइते भएको जनाएको थियो। दुईको अवस्था गम्भीर भएको विज्ञप्तिमा उल्लेख थियो। 

परारष्ट्र मन्त्रालयले जनाएअनुसार इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत् नेपालबाट २६५ जना कृषिका विद्यार्थी इजरायलमा छन्। कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ विद्यार्थी गएका छन्। 

मन्त्री साउदले उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवं सम्पर्क परिचालन गरेको बताए। परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई नेपालीहरूको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराइ सुरक्षितरूपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नको लागि नेपालीहरूलाई जानकारी गराउन निर्देशन दिइसकिएको पनि उनले बताए।

उनले नेपाली दूतावासले इजरायलमा रहेका नेपालीहरूलाई आवश्यक जानकारी सम्प्रेषण गर्न इजरायल सरकारसँग समन्वय गरी आवश्यक उद्धार र घाइते नेपाली नागरिकको उपचारका लागि पहलकदमी लिइरहेको स्पष्ट पारे।