विप्लव प्रतीकद्वारा अनूदित ‘यौटा सपनाको अवसान’ सार्वजनिक

अर्थर मिलरद्वारा लिखित ‘डेथ अफ सेल्सम्यान’को नेपाली अनुवाद ‘यौटा सपनाको अवसान’ सार्वजनिक गरिएको छ।

काठमाडौँ– अर्थर मिलरद्वारा लिखित ‘डेथ अफ सेल्सम्यान’को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’ सार्वजनिक गरिएको छ।कवि तथा अनुवादक विप्लव प्रतीकद्वारा अनूदित नाटक ‘यौटा सपनाको अवसान’को ललितपुरमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो।

अनुवादक प्रतीकसहित निर्देशक अनुप बराल र गोविन्द पराजुली, साउन्ड र प्रोडक्सन डिजाइन देव न्यौपाने, कलाकारहरू दिया मास्के, विकास जोशी, सुरज मल्ल, अभिषेक खड्का र अविरल प्रताप अधिकारीले पुस्तक विमोचन गरेका हुन्। नाटक ‘यौटा सपनाको अवसान’ ०७९ चैतमा मण्डला थिएटरमा मञ्चन गरिएका थियो। मण्डलमा ३३ दिनसम्म चलेको नाटकको ३६ वटा शो मञ्चन गरिएको वि रिडले जनाएको छ।

विमोचन कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतीकले नाटक मञ्चनदेखि लिखित पुस्तक बजारमा ल्याउनु खुशीको कुरा रहेको बताए। नाटक मञ्चन हुँदासम्म यसको लिखित पुस्तक बजारमा ल्याइने तय नभएको उनको भनाइ छ। ‘डेथ अफ सेल्सम्यान’को  अनुवाद र नाटक मञ्चन गर्नु जीवनकै उत्कृष्ट काम रहेको उनले बताए। 

निर्देशक अनुप बरालले नाटकको स्क्रिप्ट लेख्दा र मञ्चन हुँदा छुट्टाछुट्टै रूप लिने हुँदा नाटकको दुई पटक जन्म हुने गरेको बताए। नाटकमा लीला चरित्र निभाएकी कलाकार दिया मास्केले साइकोलोजिकल्ली लीलाको भूमिका निभाउन गाह्रो भएको सुनाइन्। घर चलाउने, हरेक सम्बन्धलाई जोड्ने भूमिकामा लीला रहेकोले आफ्नो आमा, दिदी, भाउजूलगायतलाई हेरेर भूमिका निर्वाह गरेको उनको भनाइ छ।

नेपालमा नाटक व्यावसायिक भइनसकेको भन्दै निर्देशक गोविन्द पराजुलीले व्यावसायिक वातावरणतर्फ बनाउनकै लागि नाटक निर्देशन शुरू गरिएको बताए। नाटकको स्क्रिप्टमा छलफल भएदेखि थिएटरमा नाटक मञ्चनसम्म पुग्न झन्डै २ वर्ष लागेको उनले सुनाए। नाटकको हरेक शो पछि शून्यता वा रित्तिएको जस्तो महसुस भएको विकास जोशीले बताए। 

पहिलो पटक यो नाटक सन् १९४९ मा न्यूयोर्कको ब्रोडवे मा ७४२ पटकसम्म मञ्चन गरेको थियो। सन् १९४९ मै नाटक विधामा पुलिजर प्राइज प्राप्त गरेको थियो। नेपाल, अमेरिका, युके, जर्मनी, चीन र भारतलगायत धेरै मुलुकमा आ–आफ्नै भाषामा नाटक मञ्चन भइसकेको वी रिडले जनाएको छ।