उपभोक्ताको हितविपरीत काम गर्नेलाई कडा कारबाही गर्ने मन्त्री रिजालको चेतावनी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्ताको अधिकार तथा हितविपरीत हुने क्रियाकलापमा संलग्न जोकोहीलाई सरकारले निर्मम भएर हदैसम्मको कारबाही गर्ने चेतावनी दिए।

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्ताको अधिकार तथा हितविपरीतका क्रियाकलापमा संलग्नलाई सरकारले हदैसम्मको कारबाही गर्ने चेतावनी दिएका छन्। 

आइतबार दशैँ, तिहार, छठलगायत चाडपर्वलक्षित सहुलियत पसलको काठमाडौँमा उद्घाटन गर्दै उनले सरकारले चाडपर्वलक्षित संयुक्त बजार अनुगमन कार्यक्रमको कार्ययोजना तयार गरी निरन्तर बजार अनुगमन गरिरहेको बताए।

उनले अनुगमनको क्रममा उपभोक्ताको अधिकार तथा हितविपरीत हुने क्रियाकलापमा संलग्न जोकोहीलाई सरकारले निर्मम भएर हदैसम्मको कारबाही गर्ने चेतावनी दिए।

उनले बजारमा व्यावसायिक क्रियाकलापलाई स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्‍याइ उपभोक्ताको अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री रिजालले उपभोक्ताहरूले प्रयोग गर्ने नाप तौल, गुणस्तर, उपभोग्य मिति र मूल्यमा सचेत रहन आग्रह गरे। उनले सरकारले विगतका वर्षदेखि खाद्य संस्थान, साल्ट ट्रेडिङ, दुग्ध विकास बोर्डमार्फत खाद्य वस्तु तथा खसीबोका समेत छुट मूल्यमा बिक्री वितरण गर्दै आए स्मरण गरे।

उनले यस वर्ष पनि उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर खाद्य वस्तुहरूको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सहुलियत पसल सञ्चालनमा ल्याएको बताए।

धेरै खपत हुने सामानमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, मूल्यवृद्धि, मिसावट, म्याद सकिएका र लेभलिङ नभएका सामग्रीहरू बेच्नेजस्ता गैरकानूनी क्रियाकलाप गर्ने तत्त्वहरू पनि बढी सक्रिय हुने भन्दै उनले मातहतका निकायलाई ध्यान दिन निर्देशन दिए।

आइतबादेखि काठमाडौँ उपत्यकासहित देशभर दशैँ, तिहार, छठलगायत चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ। सरकारले हरेक वर्ष देशभरका विभिन्न क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सहुलियत पसल सञ्चालन गर्छ। जसअनुसार यो वर्ष पनि सरकारले उपभोक्ताको सहजताका लागि काठमाडौँ उपत्यका र बाहिर गरी ४९ बिक्री स्थल राखेको छ। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले मुलुक भरका ४३ जिल्लाका ४९ स्थानहरूबाट  सहुलियत पसल सञ्चालनमा ल्याएको बताए। उनले सहुलियत पसलमा खाद्य वस्तुहरूका चामलमा प्रतिकेजी सात र खाने तेल लगायतका वस्तुहरूमा पनि ७ रुपैयाँ छुट दिएको बताए।

उनका अनुसार कर्णालीका उत्पादन गेडागुडी, खसीबोका र भेडा च्याङ्ग्रामा प्रतिकेजी १० रुपैयाँका दरले छुट दिइएको छ। उनले लोककल्याणकारी राज्य होस् भनेर सरकारले चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरेको १० वर्ष भएको बताए। सरकारले खाद्य वस्तुहरूको उपलब्धता सहज बनाइएको उल्लेख गर्दै घुम्ती पसल पनि सञ्चालन गर्ने तयारीमा रहेको बताए।

काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुरसहित मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला र महेन्द्रनगर खाद्य व्यवस्थाले सहुलियत पसल राखेको छ। 

सहुलियत पसलमा साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट पाइनेछ। सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुनेछन्।