विद्युत् विधेयक परिमार्जन गर्नुपर्छः रमेश लेखक

कांग्रेस प्रमुख सचेतक एवं सांसद रमेश लेखकले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत् उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले विधेयक परिमार्जन गर्नुपर्ने बताए।

काठमाडौँ– सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक एवं रमेश लेखकले सरकारले संसद्मा पेश गरेको विद्युत् विधेयक–२०८० लाई परिमार्जन गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा उनले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत् उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले विधेयक परिमार्जन गर्नुपर्ने बताएका हुन्।

उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र वैदेशिक लगानी बढाउने काममा पनि सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। “यो विधेयकलाई परिमार्जन गर्न, समृद्ध बनाउन आवश्यक छ भन्ने म आग्रह गर्न चाहन्छु। यो विधेयकलाई सार्वजनिक क्षेत्रलाई अलि बढी महत्त्व दिएर निजी क्षेत्रलाई कमजोर आकलन गरेको हो कि भन्ने आशंका गरिएको छ,” उनले भने। उनले सरकारले विधेयक राम्रो ल्याएको र त्यसलाई गम्भीरतापूर्वक छलफल गरेर अघि बढाउनुपर्ने बताए।

नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकारले संसद्मा प्रस्तुत गरेको विद्युत् विधेयक कतैबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गरे। विधेयकले नेपालको राष्ट्रिय हितलाई आँखा चिम्लिएको बताउँदै उनले कुनै समयमा गरिएको सम्झौता र शर्तलाई प्राथमिकतामा राखेर ड्राफ्ट गरिएको बताए। विधेयकले राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्न पर्याप्त गृहकार्यको जरुरी रहेको बताए।

“अहिले कुनै न कुनै हिसाबले यो विधेयक कहीँबाट अलि ज्यादा प्रेरित बन्न पुग्यो कि? वा हाम्रो राष्ट्रिय हितलाई यसले आँखा चिम्लिन पुग्यो कि? वा कुनै समयमा गरिएको सम्झौता र शर्तलाई प्राथमिकतामा राखेर यो ड्राफ्ट आयो कि भन्ने मेरो आशंका छ। यद्यपि मैले आरोप लगाउन चाहँदिन। तर यो विधेयकले राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्ने सन्दर्भमा पर्याप्त गृहकार्य गर्नु जरुरी छ,” उनले भने।