चाडपर्वलक्षित विशेष सुरक्षा योजना: देशभर खटाइयो ५० हजार प्रहरी

प्रहरी प्रधान कार्यालयले चाडपर्वलक्षित विशेष सुरक्षा योजना आइतबारदेखि देशैभरका प्रहरी युनिटमा लागू गर्न सर्कुलर जारी गरेको छ।

काठमाडौँ– नेपाल प्रहरीले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आइतबारदेखि विशेष सुरक्षा योजना लागू गरेको छ। विशेष सुरक्षा योजनाअन्तर्गत देशभर कुल ५० हजार ५३० जना प्रहरीहरू खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

उनका अनुसार विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी युनिटले आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यस वर्षको दशैँ, तिहार सुरक्षा योजनालाई बलियो र मजबुत पारिएको छ।

दशैँ, तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरिएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए। घर बन्द गरेर तस्वीर खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोस्ट नगर्न पनि प्रहरीले आग्रह गरेको छ।

चाडपर्वमा आपराधिक क्रियाकलाप बढी हुने भएकाले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर, छिमेकमा त्यहाँ गतिविधि भएमा वा हुने संकेत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा वा निःशुल्क नम्बर १०० मा खबर गर्नसमेत प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले आग्रह गरे।

प्रहरी प्रधान कार्यालयले चाडपर्वलक्षित विशेष सुरक्षा योजना आइतबारदेखि देशैभरका प्रहरी युनिटमा लागू गर्न सर्कुलर जारी गरेको छ। दशैँ, तिहार विशेष सुरक्षा योजना लागू भएसँगै सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरी चौबिसै घण्टा खटिइने प्रवक्ता कडायतले बताए।