इजरायलबाट नेपालीको उद्धार गर्न कांग्रेस सभापति देउवाको आग्रह

इजरायलमा बसोबास गर्दै आएका नेपालीको यकिन तथ्यांक पत्ता लगाई जीवनरक्षा तथा उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन सभापति देउवाले आग्रह गरे।

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इजरायलबाट नेपालीको उद्धार गरी स्वदेश फिर्ता ल्याउन आग्रह गरेका छन्।

इजरायलका विभिन्न स्थानमा भएका आक्रमणमा परी केही नेपाली घाइते तथा केहीलाई कब्जामा लिइएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले विज्ञप्तिमार्फत घटनाको भर्त्सना गरेका छन्।

इजरायलमा बसोबास गर्दै आएका नेपालीको यकिन तथ्यांक पत्ता लगाई जीवनरक्षा तथा उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन सभापति देउवाले आग्रह गरे। आवश्यक उद्धार गरी यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्नसमेत उनले माग गरे।

सभापति देउवाले इजरायलमा कार्यरत नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्था, आप्रवासी संगठन (आईओएम), अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायसँग पार्टीका तर्फबाट आग्रह गरे।

उनले अप्ठ्यारोमा परेका नेपालीले आवश्यक सहयोगका लागि इजरायलस्थित नेपाली दूतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्न आह्वान गरे।