डब्ल्यूएचओको चुनावमा नेपाली उम्मेदवारलाई सरकारले सहयोग नगरेको गुनासो

सरोकारवालाले डब्ल्यूएचओको दक्षिणपूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको गुनासो गरेका छन्।

काठमाडौँ– सरोकारवालाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिणपूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। 

उनीहरूले सरकारले डा. आचार्यको नाम मन्त्रिपरिषद्बाट अनुमोदन गरे पनि जिताउन पर्याप्त सहयोग नगरेको गुनासो गरेका हुन्। सरोकारवालाहरूले डा. आचार्यलाई जिताउन सरकारले नै दक्षिणपूर्वी एशिया क्षेत्रका देशहरूसँग पर्याप्त लबिइङ नगरेको र नेतृत्वदायी भूमिकासमेत नलिएको गुनासो गरे। 

आगामी अक्टोबर ३० देखि दक्षिण पूर्वीएशिया क्षेत्रको क्षेत्रीय निर्देशकका लागि भारतको नयाँ दिल्लीमा निर्वाचन हुँदैछ। दक्षिणपूर्वी एशियामा नेपालसहित बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड र टिमोर–लिस्टे रहेका छन्। 

डा. आचार्यसँग विगत ३० वर्षदेखि डब्लूएचओअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्त्वपूर्ण जिम्मेवारीमा रही काम गरेको अनुभव छ। उनले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गर्दै आएका छन्।

अधिकारकर्मी कनकमणि दीक्षितले सरकारले डा. आचार्यलाई औपचारिक अनुमोदन गरे पनि खुलस्त सहयोग नगरेको बताए। उनले पछिल्लो केही समययता परराष्ट्रमन्त्री नारायणप्रकाश साउद पछाडि हट्न खोजेको हो कि? भन्दै प्रश्न गरे।

“बंगलादेश र भारतबीचको सम्बन्ध र सम्पर्क हामीलाई थाहा छ। त्यो भएपछि भारत पनि रुष्ट होला कि भन्ने हिसाबले नेपालले क्यान्डिडेटबाट पछाडि हट्छ कि भन्ने चिन्ता जाग्नु स्वाभाविक नै हो,” उनले भने, “हाम्रै सरकारले अलिकति खुट्टा लरबराएको हो कि अलिअलि तर्सेको हो कि अलिअलि इसारामा चल्न खोजेको हो कि जस्तो देखिएको छ।”

जनस्वास्थ्यविद् प्राडा. रिता थापाले आचार्य क्षेत्रीय निर्देशकका लागि योग्य र सक्षम उम्मेदवार भएको बताइन्। डा. थापाले नेपाल सन् १९५३ देखि डब्लूएचओमा आबद्ध भएकाले पनि नेपालले क्षेत्रीय निर्देशकमा दाबी गर्नु स्वाभाविक रहेको धारणा राखिन्। उनले नेपालले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय जगत्मा राम्रो काम गरिरहेको जिकिर गरिन्।

“डा. शम्भु आचार्य एक्सपर्ट हुनुहुन्छ। ३० वर्ष जति सामुदायिकस्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म काम गर्नुभएको छ,” उनले भनिन्, “यो त नेपालले पाउने सम्मान हो। सरकारले त उहाँलाई सपोर्ट गरेको छ। तर, अर्को देशको दाँजोमा हाम्रो देशले ‘हाइस्ट गेयर’मा लैजानुपर्‍यो।”

अन्तर्राष्ट्रिय संघ संस्थामा लामो अनुभव सँगालेका विश्व पराजुलीले डब्लूएचओको उच्च तहमा नेपालले उम्मेदवार दिनु गौरवको विषय भएको बताए। उनले स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा डब्लूएचओका क्षेत्रीय निर्देशकको महत्त्वपूर्ण भूमिका रहने भन्दै मतदान गर्न सम्बन्धित देशलाई आग्रह गरे। डा. आचार्यले जिते दक्षिणपूर्वी एशियाका साथै नेपाललाई पनि फाइदा पुग्ने पराजुलीको भनाइ छ।

डब्लूएचओले २१ अप्रिलमा उम्मेदवारीका लागि दक्षिण–पूर्वी एशिया क्षेत्रका मुलुकहरूलाई पत्राचार गरेको थियो। डा. आचार्यसँगै प्रतिस्पर्धामा बंगलादेशबाट प्रधानमन्त्री शेख हसिना वाजेदकी छोरी साइमा वाजेद छिन्। डा. आचार्य डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसस्को मातहतमा ‘कन्ट्री स्टाटेजी एन्ड सपोर्ट डिपार्टमेन्ड’को निर्देशक पदमा छन्।