बहुविवाहमा संलग्न भन्दै गृहमन्त्री खाँणविरुद्ध निर्वाचन आयोगमा उजुरी

आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले ‘जनताको महाअभियोग आयोग’को नामबाट खाँणविरुद्ध बहुविवाहको उजुरी परेको जानकारी दिए।

तस्वीर : बालकृष्ण खाँणको फेसबुकबाट।

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँण बहुविवाहमा संलग्न रहेको भन्दै उनको उम्मेदवारीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। गृहमन्त्री खाँण मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट रुपन्देही–३ बाट उम्मेदवार छन्।

आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले ‘जनताको महाअभियोग आयोग’को नामबाट खाँणविरुद्ध बहुविवाहको उजुरी परेको जानकारी दिए। उजुरी तथ्यपरक नदेखिएकाले तामेलीमा राख्नेगरी आयोगबाट निर्णय भएको उनले बताए।

“वर्तमान गृहमन्त्री बालकृष्ण खाँणले बहुविवाह गरेकोले उम्मेदवारी खारेज गरिपाऊँ भनेर उजुरी परेको थियो। त्यो उजुरी तथ्यपरक नदेखिएको हुनाले तामेलीमा राख्नेगरी आयोगबाट निर्णय भएर आएको छ”, उनले भने।

गृहमन्त्री खाँण बहुविवाहमा संलग्न रहेको सरकारी कागजातहरूबाटै पुष्टि भएको समाचार उकालोमा प्रकाशित भएको थियो। निर्वाचन आयोगमा रहेका कागजातले नै खाँण बहुविवाहमा संलग्न रहेको देखाउँछन्। हेर्नुहोस् विस्तृतमाः सरकारी कागजातकै खुलासा : गृहमन्त्री खाँण बहुविवाहमा संलग्न