कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशसभा सदस्य निर्वाचनको प्रतिस्पर्धा रोचक र पेचिलो बन्दै गएको छ।
महेन्द्रनगर– आसन्न मंसिर ४ गते प्रतिनिधिसभा सदस्यसँगै प्रदेशसभा सदस्यका लागि हुन लागेको निर्वाचनमा ठूला दललाई बागी उम्मेदवारको डर रहेको छ। कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशसभा सदस्य निर्वाचनको प्रतिस्पर्धा रोचक र पेचिलो बन्दै गएको छ।
सरदमुकाम महेन्द्रनगर रहेको कञ्चनपुर क्षेत्र नं ३ प्रदेशसभा ‘क’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीदेखि बहालवाला प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलसम्म चुनावी प्रतिस्पर्धामा छन्।
नेकपा एमालेसित तालमेल गरेर चुनावी मैदानमा रहेका जोशी, एकीकृत (समाजवादी पार्टी) का रावलसँगै सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता टेकेन्द्रप्रसाद भट्टबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। जोशीलाई एमालेको साथ छ। उक्त निर्वाचन क्षेत्रमा ४६ हजार पाँच सय ८४ मतदाता छन्।
त्यसैगरी, क्षेत्र नं ३ प्रदेशसभा ‘ख’ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बेलबहादुर राना र एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र विष्टबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। विसं २०७४ को निर्वाचनमा थोरै मतान्तरले माओवादी केन्द्रका मानबहादुर सुनारसित पराजित भएका रानालाई अहिले तिनै सुनारको साथ छ।
राना दोधारा चादँनीको प्रतिनिधित्व गर्दै यहाँको समग्र विकासका लागि आफू प्रदेशसभामा दोस्रो पटक उम्मेदवार बनेको बताउँछन्। उनले झोलुङ्गे पुल, महाकाली नदीमा पक्की पुल, सडक पूर्वाधारलगायत संरचना निर्माण आफ्नो पार्टीका नेता मन्त्री हुँदा भएको उल्लेख गर्दै बाँकी विकासका काम अघि बढाउन भूमिका निर्वाह गर्ने बताए।
भीमदत्त नगरपालिकाका पूर्वनगरप्रमुख रहेका एमाले नेता विष्ट खैरभट्टीदेखि कुतियाकवरसम्मको विकासको योजना ल्याउने भन्दै चुनावी दौडाहामा छन्। राना र विष्ट प्रतिस्पर्धी रहेको उक्त क्षेत्रमा ५१ हजार दुई सय ३८ मतदाता छन्।
क्षेत्र नं ३ को प्रदेशसभा ‘क’ मा ११ र ‘ख’ मा पाँच जना प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवार चुनावी मैदानमा छन्।
त्यसैगरी, क्षेत्र नं २ मा प्रदेशका पूर्वमन्त्रीदेखि युवा संघ नेपालको पूर्व केन्द्रीय अध्यक्ष रहिसकेका एमाले युवा नेता बचनबहादुर सिंहसम्म प्रदेशसभाका उम्मेदवार हुन्। क्षेत्र नं २ प्रदेशसभा ‘क’ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका ओमविक्रम भाट, एमालेबाट बचनबहादुर सिंह, नागरिक उन्मुक्ति पार्टीबाट गीता चौधरीलगायत नौजना उम्मेदवार रहेका छन्। यहाँ भाट, सिंह र चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभाको निर्वाचनमा होमिएकी चौधरी यस पटक नयाँलाई मतदाताले अवसर दिनेमा आफू ढुक्क रहेको बताउँछिन्। “सीमान्तकृत वर्गकी उम्मेदवार भएकाले मतदाताको साथ पाउनेमा आशावादी छु”, चौधरीले भनिन्, “५० प्रतिशत महिला मतदाता रहेको ठाउँमा म एक्ली महिला उम्मेदवार छुँ।”
उनले यहाँ विगतमा थारू समुदायलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गर्ने गरिएको आरोप लगाइन्। यस क्षेत्रमा ४६ हजार ६ सय ८८ मतदाता छन्।
त्यस्तै, क्षेत्र नं २ प्रदेशसभा ‘ख’ मा सत्ता गठबन्धनबाट संविधानसभा सदस्यसमेत रहिसकेका कांग्रेसका बहादुरसिंह थापा, एमालेका कृपाराम राना (पूर्व सांसद) र एकीकृत समाजवादीका नेता एवं पूर्वप्रदेशमन्त्री लालबहादुर खड्कासहित नौजना उम्मेदवार प्रतिस्पर्धामा छन्। अघिल्लो निर्वाचनमा विजयी खड्का, कांग्रेस उम्मेदवार थापा र एमालेका रानाबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। उक्त क्षेत्रमा ५० हजार आठ सय ८९ मतदाता छन्।
यस्तै, क्षेत्र नं १ प्रदेशसभातर्फ १६ प्रतिस्पर्धी छन्। निर्वाचन अधिकृत कष्णप्रसाद नेपालका अनुसार क्षेत्र नं १ प्रदेशसभा ‘क’ मा आठ तथा प्रदेशसभा ‘ख’ मा आठ उम्मेदवारबीच चुनावी भिडन्त हुँदैछ। प्रदेशसभा ‘क’ मा ४९ हजार ६ सय ५२ र प्रदेशसभा ‘ख’ मा ४९ हजार चार सय ५८ मतदाता छन्। प्रदेशसभा ‘क’ मा सत्ता गठबन्धनबाट कांग्रेसका बन्धु राना र एमालेका वीरबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
यस्तै, प्रदेशसभा ‘ख’ मा सत्ता गठबन्धनबाट कांग्रेसका दिवानसिंह विष्ट (संविधानसभा सदस्य) र एमालेका जिल्ला सचिव पल्लभराज भट्टबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। कञ्चनपुरमा प्रत्यक्षतर्फ कूल छ प्रदेशसभा सदस्यका लागि ५० उम्मेदवार चुनावी मैदानमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
