इजरायल–प्यालेस्टाइन युद्धमा ज्यान गुमाउनेकाे संख्या ११ सय नाघ्याे

सोमबार पनि गाजा नजिकका क्षेत्रमा इजरायली सेना र प्यालेस्टिन विद्रोही समूह हमासबीच बमबारी चलिरहेको छ।

इजरायली सेनाको आक्रमणपछि गाजा क्षेत्रमा भत्केका आवासीय भवन। तस्वीर: एपी

इजरायल–प्यालेस्टाइन युद्धमा परेर अहिलेसम्म ११ सय जनाले ज्यान गुमाइसकेका छन्। यस्तै दुई हजारभन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

इजरायलमा ७०० जनाको मृत्यु भएको छ भने प्यालेस्टिनी भूमि गाजा क्षेत्रमा ४०० भन्दा धेरैको मृत्यु भएको बताइएको छ। सोमबार पनि गाजा नजिकका क्षेत्रमा इजरायली सेना र प्यालेस्टिन विद्रोही समूह हमासबीच बमबारी चलिरहेको छ। 

इजरायली सेनाले आफ्नाे दक्षिणी भागमा नियन्त्रण गर्न गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिरहेको छ। प्यालेस्टिन सुरक्षा सूत्रका अनुसार इजरायली सेनाले गाजाका आवासीय घर तथा सरकारी कार्यालयहरूमा आक्रमण गरिरहेका छन्। उक्त आक्रमणमा परेर गाजामा ४०० भन्दा धेरैको ज्यान गइसकेको छ। जसमा ७८ बालबालिका र ४१ महिला रहेका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गएको शनिबार बिहान प्यालेस्टिन विद्रोही समूहले गाजापट्टीबाट अचानक इजरायलको दक्षिणी भागमा हमला गरेको थियो। उक्त हमलामा परेर त्यस क्षेत्रमा कार्यरत १० जना नेपाली कृषि विद्यार्थीको मृत्यु भएको छ भने केही घाइते भएका छन्। घाइतेसहित युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरुको उद्धारको प्रयास भइरहेकाे त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। आफ्नो अवस्थाबारे जानकारी गराउन आग्रह गरेकाे छ।