माओवादीले सत्तागठबन्धनमा छलफलपछि मात्र शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव राख्ने

विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ताअघि सत्तागठबन्धनमा छलफल गर्ने पार्टीले निर्णय गरेको मा‌ओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरूले सर्वदलीय बैठकको निचोड र सत्तारुढ गठबन्धनसँग छलफल गरेर मात्रै विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ।

सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सोमबार नै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पनि विद्यालय शिक्षा विधेयकको सम्बन्धमा छलफल हुने भन्दै छलफलको निचोडपछि मात्रै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय भएको हो।

त्यस्तै, संशोधन प्रस्ताव दर्ताअघि सत्तारुढ गठबन्धनका दलहरूसँग पनि कुराकानी गर्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। विधेयक विषयगत समितिमा आएपछि त्यसबारे थप छलफल गर्ने पनि उनले बताए।

“प्रधानमन्त्रीले सर्वदलीय बैठक, सबै प्रमुख सचेतकहरूलाई लाई पनि प्रधानमन्त्री कार्यालयमा बोलाउनुभएको छ। त्यसैमा नेपालको विद्यालय शिक्षालाई कसरी लैजान सकिन्छ भन्नेबारेमा पनि छलफल हुन्छ। त्यहाँ पनि मोटामोटी विषयवस्तुहरू अगाडि बढ्छन्। त्यसबाट के निचोड निस्किन्छ, त्यसको आधारमा हामी अझै सत्तापक्षका सबै गठबन्धन दलहरूसँग कुराकानी गरेर यसमा हामीले संशोधन राख्नुपर्छ भन्ने कुरा भएको छ,” उनले भने।

त्यसैगरी, बैठकमा संयुक्त राष्ट्रसंघका महासचिवले असोज २७ गतेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएकाले सो दिन सबैले सहभागिता जनाउने कुरा पनि भएको उनले बताए। संसद्को चालु अधिवेशन अन्त्यपछि सांसदहरूले जनतासँग जोडिने काम गर्न र सरकारले गरेका कामहरू जनतालाई जानकारी दिन पनि भनिएको उनले जानकारी दिए।

प्रमुख सचेतक पाण्डेले बैठकले इजरायलमा निधन भएका नेपालीहरूप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको बताए। घटनामा परि घाइते भएकाहरूको उपचार, नेपाल फर्किनेहरूलाई नेपाल फर्काउन र शव ल्याउनका लागि पहलकदमी लिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए।