इजरायलस्थित दूतावासले भन्यो– विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न थालियो

तेल अबिबस्थित नेपाल दूतावासले युद्ध जारी रहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा फसेका नेपाली विद्यार्थीमध्ये केहीलाई सुरक्षित स्थानमा सारिएको र केहीलाई सार्ने क्रम जारी रहेको जनाएको छ।

काठमाडौँ– प्यालेस्टिनी सैन्य समूह हमासको आक्रमणपछि इजरायलमा अलपत्र नेपाली विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्न थालिएको छ। तेल अबिबस्थित नेपाल दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै युद्ध जारी रहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा फसेका नेपाली विद्यार्थीमध्ये केहीलाई सुरक्षित स्थानमा सारिएको र केहीलाई सार्ने क्रम जारी रहेको जनाएको छ।

“युद्ध जारी रहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा फसेका नेपाली विद्यार्थीलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघ संस्थाको सहयोगमा दूतावासले उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्य शुरू गरिसकेको छ। हाल केही विद्यार्थीको स्थानान्तरण भइसकेको र केही स्थानान्तरण हुने क्रममा रहेका छन्,” दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय कैलालीका विद्यार्थी लुईस रिजालले पनि फेसबुकमा भिडियो पोस्ट गर्दै आफूहरूको उद्धारका लागि सेनाको टोली आइपुगेको जानकारी दिएका हुन्। “हामी यहाँबाट सुरक्षित ठाउँमा जाँदै छौँ। नेपाल सरकारले रेस्क्यु गरे हामीलाई राम्रो हुन्थ्यो,” रिजालले भनेका छन्, “यहाँ अरू देशले आक्रमण गर्दै छ भन्ने हामीले सुनेका छौँ।” केहीलाई आर्मीले उद्धार गरेर लगिसकेको र केहीको आधा घण्टामै उद्धार हुने उनको भनाइ छ।

टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थीहरू गत भदौ २९ गते अध्ययनका लागि दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा पुगेका थिए। हमास समूहको आक्रमणबाट तीमध्ये १० जनाको निधन भएको सरकारले बताएको थियो। उनीहरूको शव स्वदेश फिर्ता गर्नका लागि इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय गरिरहेको दूतावासले जनाएको छ। 

“दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट दुखद निधन भएका १० जना नेपालीहरूको शव फिर्ता गर्नका लागि राजदूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य शुरू गरिसकेको छ,” विज्ञप्तिमा भनिएको छ।

गम्भीर घाइते भएका चार जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ। सम्पर्कविहीन भएका एक जनाको प्रहरी र स्थानीय संयन्त्रको सहयोगमा तीव्र पारिएको दूतावासले जनाएको छ।

“चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुई जना तेल अवीव शहरमा सुरक्षित स्थानमा ल्याइसकिएको छ,” विज्ञप्तिमा भनिएको छ, “साथै, सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजी कार्य प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्रको सहयोगमा तीव्र गरिएको छ।”

त्यस्तै, नेपाल फर्कन इच्छुक नेपालीको स्वदेश फिर्तीका लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरू भएको जनाइएको छ। अनलाइन रजिस्ट्रेसन शुरू भएयता स्वदेश फर्किन इच्छुक दुई सयभन्दा बढीको विवरण प्राप्त भइसकेको दूतावासले जनाएको छ।

“इजरायलमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई संयतता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ,” विज्ञप्तिमा भनिएको छ।

सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली विद्यार्थीहरूका लागि लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान पठाउने निर्णय गरेको छ।