मस्कोसहित ३८ सहरमा चर्कियो प्रदर्शन

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धलाई तीव्रता दिने तयारी स्वरूप थप ३ लाख सैनिक खटाउने घोषणापछि मस्कोसहित ३८ सहरमा विरोध प्रदर्शन भएको छ।

तस्वीर- बीबीसी

रूसले युक्रेनविरुद्धको युद्धलाई तीव्रता दिने तयारी स्वरूप थप ३ लाख सैनिक खटाउने राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणापछि रुसी जनता प्रदर्शनमा उत्रिएका छन्।



बुधबार राष्ट्रपति पुटिनले युक्रेनका ४ क्षेत्रमा ३ लाख रिजर्व सैनिक तैनाथ गर्ने घोषणा गरेका थिए। साथै उनले रुसले कब्जा गरेको स्थानमा जनमत संग्रह गराउने घोषणा गरेका छन्। उनको घोषणासँगै रुसभित्रै प्रदर्शन सुरु भएको छ। प्रहरीले हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ।



येकातेरिनबर्गसमेत केही सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका छन्। प्रहरीले प्रदर्शनमा नउत्रिन र घर फर्किन अपिल गरेको थियो। यद्यपि प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले बल प्रयोग गरेको जनाइएको छ।



विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका भिडियो इन्टरनेटमा तीव्र रूपमा सेयर भइरहेका छन्। भिडियोमा प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको देख्न सकिन्छ।



अन्य भिडियोमा हजारौँको संख्यामा प्रदर्शनकारीहरू मार्च गरिरहेको देख्न सकिन्छ। मार्चमा सहभागी भएकाहरूले 'नो टु वार'को नारा लगाएका थिए।



बिबिसीका अनुसार मस्को र सेन्ट पिटर्सबर्गसहित ३८ सहरमा प्रदर्शनमा उत्रिएका १ हजार ३०० प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ।



रुसीको नियन्त्रणमा रहेका चारवटा युक्रेनी भूमिलाई गाभ्ने विषयमा जनमतसंग्रह गराउने विषयमा समेत धेरैले विरोध जनाएका छन्। सरकारी कदमविरुद्ध प्रदर्शनमा उत्रिएका नागरिकमाथि रुसी सेनाले गरेको ज्यादतीको अन्तर्राष्ट्रिय जगतमा निन्दा भइरहेको छ।



यता, आजै रुस र युक्रेनबीच युद्धका कैदीबन्दी साटासाट भएको छ। रुसले बन्दी बनाएका २ सय जना युक्रेनी कैदीबन्दी रिहा गर्ने तयारी भएको हो। यसका लागि युक्रेनी राष्ट्रपतिले टर्की र साउदी अरबलाई धन्यवाद दिएका छन्।



२४ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। रुसले भने यसलाई 'विशेष सैन्य कारबाही' दाबी गर्दै आएको छ। युद्धको सुरुवातदेखि नै रुसभित्रै मात्रै होइन विश्वभर पुटिनको विरोध भइरहेको छ। पुटिनविरुद्ध न्युयोर्क र जर्मनीमा पनि सडक प्रदर्शन भइरहेको छ।