विश्व मानसिक स्वास्थ्य दिवस: उपचारमा पहुँच बढाउने चुनौती

नेपालमा पछिल्लो समय मनोचिकित्सकको परामर्श लिने बिरामीको संख्या बढ्दो छ। मानसिक स्वास्थ्यमा ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ।

काठमाडौँ– विश्व मानसिक स्वास्थ्य दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

हरेक वर्ष अक्टोबर १० मा मनाइने यो दिवसको नारा यस वर्ष ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ तय गरिएको छ। 

दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षणमा प्रेरित गर्ने त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख डा. सरोज ओझाले बताए। 

“जो व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्छ र दैनिक जीवनमा आउने तनावलाई त्यो क्षमताले व्यवस्थापन गरेर आफ्नो जीवनमा सकारात्मक किसिमको भूमिका निर्वाह गर्छ भने त्यो स्थिति नै मानसिक स्वास्थ्य र ‘मेन्टल वेयल विङ हो’,” उनले भने।

उनका अनुसार मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वास्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्छ। “युद्ध, अशान्ति, आर्थिक संकट, बेरोजगारी र कतिपय सम्बन्धले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ,” डा. ओझा भन्छन्, “व्यक्ति आफूले यस्ता तनाव बहन गर्ने क्षमताको वृद्धि गर्नुपर्छ। प्रतिकूल परिस्थितिलाई स्वीकार र सामना गर्न क्षमता विकास गर्नुपर्छ।”

दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उनको सुझाव छ। नेपालमा पछिल्लो समय मनोचिकित्सकको परामर्श लिने बिरामीको संख्या बढ्दो छ। मानसिक स्वास्थ्यमा ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ। औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिनसके डिप्रेसनलाई कम गर्न सकिने डा. ओझाको भनाइ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अन्तर्गत मानसिक क्षेत्रमा काम भइरहेको एनसीडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. फणीन्द्र बरालले बताए। उनका अनुसार मानसिक स्वास्थ्यमा सचेतना तुलनात्मक रूपमा बढे पनि यसको उपचारमा पहुँच बढाउन चुनौती छ।

“सरकारी स्वास्थ्य संस्थामा मनोचिकित्सक कम छन्। भएका पनि शहरकेन्द्रित छन्,” शाखा प्रमुख डा. बरालले भने, “दूरदराजका २२ जिल्लामा महिनामा एकपटक मनोचिकित्सकले मानसिक स्वास्थ्य परीक्षण गर्ने गरेका छन्। सरकारले मानसिक स्वास्थ्य परामर्श र औषधि निःशुल्क वितरण गर्दै आएको उनले बताए।

संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (२०१६–२०३०) मा पनि मानसिक स्वास्थ्यको प्रवर्द्धन र नसर्ने रोगबाट हुने मृत्युदरलाई एक तिहाइले कम गर्ने लक्ष्य छ।