अरिंगालको टोकाइबाट जाजरकोटमा २ बालिकाको मृत्यु

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिंगालले टोकेर घाइते भएकी छन्।

सांकेतिक तस्वीर

जाजरकोट– कुशे गाउँपालिका–१ धाउनीमा अरिंगालको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय वीरबहादुर सिंहका नौ महिनाकी छोरी निर्जला र तीन वर्षीया सुस्मिता छन्।  

टालेगाउँ स्वास्थ्यचौकी प्रमुख शेरबहादुर बस्नेतका अनुसार घाइते निर्जलाको उपचारका लागि सोमबार छेडागाड नगरपालिकास्थित थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमा नै सोमबार  मृत्यु भएको हो।

सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो। बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिंगालले टोकेर घाइते भएकी छन्। 

गाई लिएर खेतमा गइरहेको समयमा आइतबार दिउँसो अरिंगालले टोकेको थियो। तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतको भनाइ छ।