इजरायलमा ज्यान गुमाएका नेपालीकाे शव तत्काल ल्याउन संसदीय समितिकाे निर्देशन

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीको चाँडो उद्धार गर्नसमेत सरकारलाई निर्देशन दिएको छ।

काठमाडौँ– अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल र प्यालेस्टिनबीचकाे युद्धमा परेर निधन भएका नेपाली विद्यार्थीको शव यथाशीघ्र नेपाल ल्याउन र द्वन्द्वग्रस्त क्षेत्रका नेपालीको चाँडो उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ।

मंगलबार बसेको बैठकमा समितिका सभापति राज किशोर यादवले छिटो १० नेपालीको शव नेपाल ल्याउन सरकारलाई निर्देशन दिएका हुन्। 

"अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरूको शव यथाशीघ्र नेपाल ल्याउन,घाइतेहरूको शीघ्र स्वास्थ्य उपचार गर्न, बेपत्ता भएका नेपालीको तत्काल खोजी गर्न,अप्ठेरोमा परेका नेपालीको उद्धार एवम् सुरक्षित स्थानमा स्थानान्तरण गर्न,राहतको व्यवस्था गर्न स्वदेश आउन चाहने नेपालीलाई तत्काल स्वदेश ल्याउन आवश्यक समन्वय गरी शीघ्र पहलकदमी लिन समिति सरकारलाई निर्देशन गर्दछ,’ उनले भने।

समितिले भविष्यमा घट्न सक्ने यस्ता घटनाको आँकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरूलाई नेपालीहरूको विवरण संकलन गरी पूर्ण तयारी अवस्थामा राख्न र त्यस्ता निकायलाई स्रोत साधन सम्पन गरी सक्षम बनाउन समेत सरकारलाई निर्देशन दिएको छ।