नेपालगन्जमा कर्फ्यु हटाइयो, दशैँतिहार विशेष सुरक्षा योजना लागू

नेपालगन्जको जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए।

नेपालगन्ज– नेपालगन्जमा एक सातादेखि जारी कर्फ्यु हटाइएको छ।

जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए। उनले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यु हटाइएको उल्लेख गरिए।

अघिल्लो मंगलबार नेपालगन्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। अवस्था सामान्य बन्दै गएपछि केही दिनयता दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यु लाग्दै आएको थियो।

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते मंगलबार दिउँसो १ बजेदेखि नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो। यही असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइएको थियो भने रातिको समयमा कर्फ्यु कायमै राखिएको थियो।  

विशेष सुरक्षा योजना 
बाँकेमा प्रहरीले दशैँतिहार पर्वका लागि विशेष सुरक्षा योजना ल्याएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेले कोहलपुर नगरपालिकास्थित बसपार्क र नेपालगन्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

सीमाक्षेत्र जमुनाह नाकामा समेत भारतबाट आउने नेपाली नागरिकको सहजीकरणका लागि यात्रु सहायकता कक्ष स्थापना भएको छ। भारतबाट आएका केहीले गरेको गुनासो सम्बोधन गरिएको जमुनाहका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले जानकारी दिए। 

प्रहरीले बसपार्क क्षेत्रमा यात्रुहरू ठगी हुने सम्भावना भएकाले त्यसमा पनि निगरानी बढाएको जानकारी दिँदै प्रनाउ डाँगीले भारतका रेल्वे स्टेसनसम्म पनि सादा पोसाकमा रहेका प्रहरीले निगरानी गरेको बताए।

“कसरी हुन्छ नागरिकको जीउधनको सुरक्षा गर्ने योजना हो,” उनले भने। यसबाहेक भारतसँग जोडिएका सीमा क्षेत्र नरैनापुर लगायतका क्षेत्रमा पनि प्रहरीले निगरानी बढाएको छ।