इजरायलको भ्रमण नगर्न सरकारको आग्रह

परराष्ट्रमन्त्री साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत वा पार्टीगत रूपमा द्वन्द्वरत मुलुक इजरायलको भ्रमण नगर्न आग्रह गरेका छन्।

काठमाडौँ– सरकारले द्वन्द्वरत मुलुक इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ। मंगलबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउँदै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजनीतिक तहमा आधिकारिक निर्णयभन्दा बाहेक व्यक्तिगत वा पार्टीगत भ्रमण नगर्न आग्रह गरेका हुन्।

मन्त्री साउदले १० जना नेपालीको ज्यान जाने गरी इजरायलमा भएको दुखद घटनाको संवेदनशीलतालाई राजनीतिक फाइदा वा बेफाइदाका रूपमा प्रयोग गर्ने नहुने बताए। उनले इजरायलमा रहेका नेपालीको समस्यालाई सम्बोधन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध र गम्भीर भएर लागेको उल्लेख गरे। 

“परराष्ट्र मन्त्रालयले इजरायल सरकार र नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरी निधन भएका नेपालीहरूको शव नेपाल ल्याउन, जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र नेपाल फर्कन चाहने विद्यार्थी र अन्य नेपालीलाई नेपाल ल्याउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ,” उद्धारका लागि विमान तयार अवस्थामा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरिएको उल्लेख गर्दै उनले भने, “परराष्ट्र मन्त्रालय नेपाल सरकारका यी निर्णयहरू कार्यान्वयन गरी इजरायलमा रहेका नेपालीहरूको समस्यालाई सम्बोधन गर्न पूर्ण रूपमा प्रतिबद्ध र गम्भीर भएर लागेको छ।”

मन्त्री साउदले उनले इजरायल संकटका सम्बन्धमा सरकारले गरेको काममा संसदीय समिति र त्यसका सदस्यको पनि सकारात्मक सहयोगको अपेक्षा गरिएको बताए। घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरलाई समेत ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैलाई आह्वान गरे।

मन्त्री साउदले द्वन्द्वको चपेटामा परेका सबै नेपालीको उद्धार गरिएको समितिलाई जानकारी गराए। उनले इजरायलमा रहेका नेपालीको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीलाई सुरक्षित तवरले रहने प्रबन्ध गर्न, उद्धार तथा सहयोग गर्नका लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको र त्यस काममा नेपाली राजदूतावासलाई सक्रिय रूपमा परिचालन गरिएको दाबी गरे।

इजरालयमा प्यालेस्टिनी सैन्य समूहको आक्रमणमा परी १० जना नेपालीको निधन भएको छ भने घाइते भएका चार जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको र एक जनासँग अहिले पनि सम्पर्क स्थापित हुन नसकेको सरकारले जनाएको छ। मन्त्री साउदका अनुसार इजरायलको दक्षिण क्षेत्रको तुलनात्मक रूपमा जोखिमयुक्त क्षेत्रमा बंकरभित्र आश्रय लिइराखेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जनालाई सोमबार इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।