यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिने छ।
काठमाडौं– मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी मंसिर ५ गतेदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर ५ देखि ११ गतेसम्मको यान्त्रिक उडानको तालिका बनाएको हो।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पोखरा विमानस्थलमा मंसिर ५ गतेदेखि एक साता यान्त्रिक उडान हुने जानकारी दिए। यसअघि प्राधिकरणले मंसिर १४ गतेदेखि यान्त्रिक उडान गर्ने जनाएको थियो। पोखरा विमानस्थलमा एक साता यान्त्रिक उडान हुने छ। प्राधिकरणले आगामी जनवरी १ (पुस १७ गते) बाट पोखरा विमानस्थल व्यावसायिक सञ्चालनको घोषणा गरिसकेको छ।
यान्त्रिक उडानको क्रममा हालको पुरानो आन्तरिक विमानस्थलको उडान तालिका हेरफेर हुनसक्ने प्राधिकरणले जनाएको छ। “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक उडानका क्रममा हाल पुरानो विमानस्थलको आन्तरिक उडान पूर्ण रोक्नुपर्छ भनेर एरोथाइका प्राविधिकले भनेका छन् नयाँ विमानस्थलमा यान्त्रिक उडान गर्नुपर्ने भएकाले पनि उडान तालिका मिलाउने प्रयासमा छौँ”, प्रवक्ता निरौलाले भने।
यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिने छ। यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिन्छ।
प्रवक्ता निरौलाका अनुसार पोखरालगायत देशका अन्य विमानस्थलमा यान्त्रिक उडानका लागि एरोथाइ कम्पनीको जहाज गत आइतबार नै काठमाडौँ आइसकेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत देशका अन्य विमानस्थलको यान्त्रिक उडान सकेर आगामी डिसेम्बर ५ मा एरोथाइको जहाज फर्किने प्रवक्ता निरौलाले बताए। एरोथाइको जहाजले देशभरका आन्तरिक विमानस्थलको उपकरण जाँचमा नियमित परीक्षण उडान गर्ने छ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए। करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी करिब २२ अर्ब हुने प्राधिकरणले जनाएको छ। विमानस्थलको हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ।
काठमाडौं विमानस्थलमा यान्त्रिक उडान शुरू
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एरोथाइको जहाजबाट यान्त्रिक परीक्षण उडान शुरू भएको छ। आइतबार काठमाडौँ आइपुगेको प्राविधिक उपकरण जडित उक्त जहाजले सोमबारदेखि नै यान्त्रिक उडान शुरू गरेको प्राधिकरणका प्रवक्ता निरौलाले बताए। अहिले दिउँसोको समयमा दैनिक पाँच घण्टा यान्त्रिक उडान भइरहेको छ। पाँच दिनसम्म यान्त्रिक उडान हुनेछ। यो उडानका क्रममा विमानस्थलको नियमित उडान सामान्यरूपमै सञ्चालन भइरहेको प्राधिकरणले जनाएको छ।
काठमाडौंपछि पोखरा विमानस्थलमा यान्त्रिक उडान हुने छ। पोखरालगत्तै भैरहवा, नेपालगञ्ज, धनगढी, चन्द्रगढीलगायत विमानस्थलमा परीक्षण उडान हुन्छ। यान्त्रिक उडान हरेक वर्ष गरिन्छ। पछिल्ला दुई वर्ष कोभिड–१९ महामारीका कारण नियमित यान्त्रिक उडान भएको थिए। प्रवक्ता निरौलाले यान्त्रिक उडानमार्फत विमानस्थलमा जडान भएका सञ्चार उपकरणको ‘भेरिफाइड’ गरिने जानकारी दिए।
चौध मिटर काटियो रिट्ठे पानी डाँडा
ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको पोखरा विमानस्थल नजिकै रिट्ठे पानी डाँडा कटानको पहिलो चरणको कार्य सकिएको छ। उक्त डाँडो हालसम्म १४ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ ।
धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ। यान्त्रिक उडानका लागि शुरूमा १४ मिटर डाँडा कटान गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
