स्वास्थ्यमन्त्री भन्छन्– तलब खुवाउन नसकेर वीरका कर्मचारी हटाएका हौँ

स्वास्थ्यमन्त्री बस्नेतले देशको आर्थिक अवस्था विकराल रहेको र तलब खुवाउन सक्ने अवस्थासमेत नभएपछि वीर अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई हटाउन बाध्य भएको बताए।

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन्।

विश्व मानसिक स्वास्थ्य दिवस, २०२३ का सन्दर्भमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले कोभिड–१९ को महामारीका बेला नियुक्त गरिएका कर्मचारीलाई अहिले तलब दिन नसकेपछि निकाल्न बाध्य भएको प्रस्ट्याएका हुन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार एकैपटक सेवाबाट हटाएको थियो। वीरका कर्मचारीलाई हटाइएपछि भइरहेको टीकाटिप्पणीप्रति लक्षित गर्दै उने भने, “वीर अस्पतालमा कोभिड–१९ को बेला कोभिड प्रयोजनमा राखिएका दुई सय चानचुन कर्मचारीहरूलाई अहिले तलब दिन नसकेपछि निकालिएको छ।” 

उनले देशको आर्थिक अवस्था विकराल रहेको र तलब खुवाउन सक्ने अवस्थासमेत नभएपछि कर्मचारीलाई हटाउन बाध्य भएको प्रस्ट्याए। “म आउने बेला १० महिनादेखि तलब नपाएर बसेका सयौँ–सयौँ कर्मचारीहरूलाई मैले ९५ करोड भनेको थिएँ। अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रुपैयाँ फाजिलमा खर्च भएको छ। प्रधानमन्त्रीज्यूको निर्देशनमा यो बाँड्ने काम भएको हो। सधैँभर फाजिलका लागि बाँड्न सक्ने अवस्था भएन। देशको आर्थिक अवस्था यस्तै छ,” उनले भने।

उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रूपमा रहेको भन्दै अब छिटै समाधान हुने दाबी गरे। उनले २०५४ सालदेखि स्वास्थ्यक्षेत्रमा दरबन्दी बढाउने काम अलमलिएर बसेको उल्लेख गर्दै चाँडै विज्ञापनमार्फत नयाँ नियुक्ति प्रक्रिया थालिने जिकिर गरे। 

मन्त्री बस्नेतले स्वास्थ्यकर्मी उत्पादन निकै कम भएको भन्दै यथाशीघ्र चिकित्सा शिक्षा ऐन संशोधन गरिने बताए। उनले संविधानको मौलिक हकमा आधारभूत स्वास्थ्य सेवा जनतालाई निःशुल्क गर्ने भन्ने उल्लेख भए पनि कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएर लागिरहेको बताए।