घुस लिएको आरोपमा भूमि आयोगका ३ कर्मचारी पक्राउ

घुसबापत ४० हजार रुपैयाँ लिएको आरोपमा पक्राउ परेका कर्मचारीको बयान लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

झापा– झापामा घुस लिएको आरोपमा तीन कर्मचारी पक्राउ परेका छन्। 

भूमिहीन दलित, भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि झापाको हल्दिबारीमा खटिएका राष्ट्रिय भूमि आयोगमा कार्यरत तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार आयोगबाट काजमा खटिएका भूमि आयोगका कर्मचारी मोहन नेपाल, विवेक पोखरेल र कमल खनाललाई पक्राउ गरिएको हो। हल्दिबारी–१ का गणेशप्रसाद पौडेलको भोगचलनमा रहेको १२ कट्टा ऐलानी जग्गाको मोठ कायम गरिदिने भन्दै घुसबापत ४० हजार रुपैयाँ रकम लिएको आरोपमा तीनै जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रजिअ पोखरेलका अनुसार जग्गाको नापी गर्दा लाग्ने राजस्व रकम बैंकमा बुझाउन लगाएपछि आयोगका ती कर्मचारीले ४० हजार रुपैयाँ नगद नै लिएका थिए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको टोलीले रकमसहित पक्राउ गरेको हो। पीडित पौडेलले घुस लिएका कर्मचारीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्। प्रहरीले पक्राउ परेका कर्मचारीको बयान लिएर अनुसन्धान कार्य अघि बढाएको जनाएको छ।