इजरायल–गाजा सीमा क्षेत्रबाट सबै नेपालीलाई सुरक्षित ठाउँमा सारियो, २८८ जना स्वदेश फर्किन इच्छुक

तेल अबिबस्थित नेपाली राजदूतावासको अनलाइन रजिस्ट्रेसन प्रणालीमार्फत विवरण भरेका ३२४ जनामध्ये २८८ जनाले स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन्।

 

काठमाडौँ– द्वन्द्वरत मुलुक इजरायलबाट २८८ जना नेपालीले स्वदेश फर्किने चाहना राखेका छन्। तेल अबिबस्थित नेपाली राजदूतावासको अनलाइन रजिस्ट्रेसन प्रणालीमार्फत विवरण भरेका ३२४ जनामध्ये २८८ जनाले स्वदेश फर्किने चाहना राखेका हुन्।

३६ जनाले भने स्थानान्तरण हुन चाहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। “सम्पर्कविहीन भएका विपिन जोशीको खोजी कार्य तीव्र रूपमा भइरहेको छ,” मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। 

यता, राजदूतावासले जारी गरेको विज्ञप्तिमा घाइते भएका चार जनाको स्वास्थ्य अवस्थामा सुधार आएको र सबै नेपालीहरूलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ। “इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा रहेका ५५ जना नेपाली विद्यार्थीहरूलाई इजरायली सुरक्षा संयन्त्रसमेतको सहयोगमा उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ,” विज्ञप्तिमा भनिएको छ, “यसैगरी इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहनुभएका ७२ जना नेपाली विद्यार्थीहरूलाई अझ सुरक्षित ठाउँमा सारिएको छ।”

मन्त्रालयले इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश फर्काउने प्रक्रिया शुरू गरिएको जनाएको छ। शनिबार प्यालेस्टिनी सैन्य समूह हमासले इजरायलमाथि अचानक शुरू गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। उनीहरूको शव नेपाल ल्याउन प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको हो।

“इजरायलमा निधन भएका १० जना नेपालीहरूको शव नेपाल ल्याउनका लागि इजरायल सरकारको विधि विज्ञान निकायसँग समन्वय भई सकेसम्म चाँडो ल्याउने गरी कार्य प्रक्रिया शुरू भइसकेको छ,” विज्ञप्तिमा भनिएको छ।

मंगलबार अपराह्न परराष्ट्रमन्त्री एनपी साउदले इजरायली समकक्षीसँग टेलिफोनमा नेपालीहरूको शव स्वदेश ल्याउन, नेपालीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्वदेश फर्कन चाहने नेपालीहरूलाई सहजीकरण गर्ने विषयमा कुराकानी गरेका मन्त्रालयले जनाएको छ। त्यस्तै, सरकारले हालको अवस्थामा अध्ययन तथा अन्य प्रयोजनका लागि इजरायल जान लागेका नेपालीहरूलाई तत्काल भ्रमण नगर्न अनुरोध गरेको छ।