काभ्रेका ८४९ सहकारीको अवस्था ‘अज्ञात’: जोखिममा नागरिकको बचत

काभ्रेको जनसंख्या तीन लाख ६४ हजार ३९ छ। तर, जिल्लामा सहकारीका सदस्य भने छ लाख ७९ हजार ८१८ रहेका छन्।  

काभ्रेपलान्चोक– काभ्रेपलान्चोकमा ८४९  सहकारीको अवस्था ‘अज्ञात’ रहेको पाइएको छ। एक हजार ४९५ सहकारीमध्ये ६४६ वटा मात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको जिल्ला सहकारी संघले जनाएको छ।

संघले तयार पारेको अध्ययन प्रतिवेदन मंगलबार बनेपा नगरपालिकालाई बुझाइएको संघका अध्यक्ष दिलीप शर्मा जंगमले बताए। जिल्लाको कुल जनसंख्याभन्दा सहकारीका सेयर सदस्य धेरै देखिएको उनको भनाइ छ। “काभ्रेमा सञ्चालित विभिन्न छ लाख ७९ हजार ८१८ जना सेयर सदस्य रहेका छन्। जिल्लाको जनसंख्या तीन लाख ६४ हजार ३९ छ,” उनले भने, “एकै जना एकभन्दा बढी सहकारीमा सदस्य भएकाले यस्तो भएको हो। यसले सदस्यको बचतसमेत जोखिममा पर्ने सम्भावना बढाउँछ।” 

यस्तै सञ्चालनमा आएका सहकारीमा पाँच अर्ब पाँच करोड सेयरपुँजी रहेको छ। ३६ अर्बको बचत कारोबार रहेको प्रतिवेदनमा उल्लेख छ। उक्त कारोबारबाट सहकारीले सरकारका विभिन्न निकायमा वार्षिक २४ करोड ९१ लाख रुपैयाँ राजस्व बुझाएका छन्। पछिल्ला केही वर्षदेखि सहकारीमा देखिएको विकृति, विसंगति सुधार गर्न तथा सहकारीमा पारदर्शिता कायम गर्न अनुगमन गरिएको जंगमले बताए।

दैनिकजसो सहकारीहरू भाग्ने र सदस्यको बचत रकम फिर्ता गर्न नसकेको गुनासो दर्ता हुन थालेपछि बनेपा नगरपालिकाले जिल्ला सहकारी संघमार्फत अध्ययन गरेको हो। गत चार महिनामा मात्रै ७७ वटा सहकारी बेपत्ता भएको पाइएको संघले जनाएको छ। 

केही सहकारीमा २० वर्षसम्म एउटै अध्यक्ष, परिवारका सदस्य सञ्चालक र कर्मचारी, विनियम फरक–फरक, केरमेट, विनियमबिना सञ्चालन भएकोजस्ता समस्या देखिएको छ। यस्तै कार्यक्षेत्रभन्दा बाहिर सदस्य र कारोबार गरेकोजस्ता समस्या पनि देखिएकाले तत्काल नगरपालिकाले त्यस्ता सहकारीलाई नियमन गर्न प्रतिवेदनमार्फत सुझाव दिइएको छ। केही सहकारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दासमेत दर्ता भएका छन्।

६४ वटा सहकारीका कुनै कार्यालय र बोर्डसमेत नभएको र छ वटाले नियामक निकायमा प्रतिवेदन नबुझाएको पाइएको छ। यस्तै, बनेपाका तीन सहकारीले अनुगमन टोलीलाई असहयोग गरेको संघका अध्यक्ष जंगमले गुनासो गरे। 

सहकारीलाई नियमन गर्ने निकाय सक्रिय रहनुपर्ने जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमको भनाइ छ। “बचतकर्ताको रकम जोखिममा पारेर भागेका सहकारी सञ्चालकलाई नियमतः कारबाही गरी बचत फिर्ता गर्नुपर्छ,” उनले भने। 

बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले पालिकाभित्र भएका सबै सहकारीको वास्तविक तथ्यांकसहितको अवस्था प्राप्त भएकाले नियमन तथा सुधारका लागि योजना बनाउने जानकारी दिए। 

अनधिकृत रूपमा सञ्चालित केही सहकारीको सम्पत्ति नगरमार्फत रोक्कासमेत गरिएको उपप्रमुख विमला सापकोटाले बताइन्।