गैरीगाउँ हत्या प्रकरण: आरोपीलाई जन्मकैद मागसहित बुझाइयो प्रतिवेदन

हत्या आरोपित सञ्जय भण्डारीले बयानका क्रममा व्यक्तिको पनि हत्या गरेको स्वीकार गरेका थिए। प्रहरीले उनलाई जन्मकैदको सजाय माग गर्दै प्रतिवेदन बुझाएको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ।

प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। उक्त प्रकरणमा विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन बुझाइएको प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए। “प्रहरीले हत्या आरोपमा एकजना सञ्जय भण्डारीलाई पक्राउ गरेको छ। उनी बोल्न नसक्ने भएकाले प्रहरीले दोभासेमार्फत बयान लिएको थियो,” उनले भने। 

बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको स्वीकार गरेको एसपी ढुंगेलले बताए। अनुसन्धानका क्रममा प्रहरीले ‘ब्रेन म्यापिङ’ (दिमागी अवस्था परीक्षण) गरेको थियो।

सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले प्रतिवेदन आइपुगेको र कार्यालयले अध्ययन गरिरहेको जानकारी दिए। “अध्ययनपछि अभियोजन दर्ता हुन्छ,” उनले भने, “प्रहरीले भने उनलाई जन्मकैदको सजाय माग दाबी लिनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको छ।”

आरोपीले रिसीईबी साँधेर एक व्यक्तिको हत्या गरेको र उक्त घटना भएको देखेपछि घटना बाहिर जान नदिन एकै परिवारका अन्य तीनको पनि हत्या गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। राठौरको नेतृत्वमा उक्त घटनाको अनुसन्धान समिति बनाइएको थियो।

भदौ २९ गते राति बजेको समयमा उक्त घटना भएको थियो। काठमाडौँ महानगरपालिका–३२ तीनकुने नजिक गैरीगाउँस्थित दिव्य समिलमा पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारीका नवीन भन्ने विशाल राईको हत्या भएको थियो।