अपराधीलाई आममाफी विरुद्ध माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

राष्ट्रपतिको राजीनामा माग्दै उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध र्‍याली गरेका छन्।

काठमाडाैँ– हत्या आरोपमा जेल सजाय भाेगिरहेका अपराधीलाई सरकारले आममाफी दिएको विरुद्ध बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।

भारती मानन्धरको पक्षमा मानन्धर समाज र युवा अभियन्ताहरूले दबाबपूर्ण प्रदशन गरेका हुन्। भारतीका श्रीमान चेतन मानन्धरकाे हत्या आरोपमा जेल सजाय भोग्दै आएका रिगल ढकालको राष्ट्रपतिद्वारा गरिएको आममाफी विरुद्ध उनीहरूले नाराबाजी गरेका छन्। राष्ट्रपतिको राजीनामा माग्दै उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध र्‍याली गरेका छन्।

संविधान दिवसकाे अवसर पारेर असोज ३ गते रिगलसहित ६७० जनालाई सरकारले माफी मिनाहा दिएर रिहा गरेको थियाे। ८ वर्षअघि, नेपालगन्जको धम्बोझी चोकमा दिउँसै खुँडा प्रहार गरी चेतनको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाइएका रिगललाई भुक्तान गर्न बाँकी १२ वर्ष कैद छुट गर्ने सरकारको निर्णय राष्ट्रपतिले सदर गरेपछि उनी रिहा भएका थिए। गणतन्त्र दिवस, प्रजातन्त्र दिवस तथा संविधान दिवसका अवसरमा नेपाल सरकारले पछिल्लो आठ वर्षमा ९ हजार ४३८ जनालाई माफी मिनाहा र कैद छुट दिएको छ।