पोखरामा तोरीपानी क्षेत्रबाटै प्याराग्लाइडिङ सञ्चालनको तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौँदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुंगा पुगेकामा पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको छ।

कास्की– पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौँदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुंगा पुगेकामा पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको हो। पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावापानीका हिसाबले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइको विधा बन्दै आएको छ।

अहिले उडान हुँदै आएको स्थान मान्द्रेढुंगा र अवतरणस्थल पामे दूरीका हिसाबले पनि टाढा रहेको छ। शरूआतदेखि नै सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौँदीमा अवतरणको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई उत्साहित बनाउने गरेको थियो।

मान्द्रेढुंगाबाट उडान सञ्चालन गर्दा पर्यटक आकर्षित हुन सकेका थिएनन् भने प्याराग्लाइडिङ गर्नेको संख्यासमेत घटेको छ। यसैले क्षेत्र विस्तार गरी बाहाकोट र तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ गर्ने निर्णय भएको नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ। नागरिक उड्डयन प्राधिकरणका विज्ञको सहयोग लिई प्याराग्लाइडिङ उडान क्षेत्र र अवतरण क्षेत्र विस्तार गर्न लागिएको संस्थाका अध्यक्ष सुनिल भट्टराईले बताए। 

       यो पनि- अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखरामा प्याराग्लाइडिङको भविष्य अन्योल

क्यानले लामो प्राविधिक अध्ययनपछि तोरीपानीसम्म उडानलाई क्षेत्र विस्तार गर्न सहमति दिएको उनको भनाइ छ। पोखरामा दुई दशकदेखि  प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ। पर्यटकीय शहरमा सञ्चालन भएको प्याराग्लाइडिङमा साहसिक पर्यटक आकर्षित हुँदै आएका छन्। पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटक साहसिक गतिविधि प्याराग्लाइडिङमा रमाउने गर्छन्।

नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले प्याराग्लाइडिङमा सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। “आगामी दिनमा यहाँ प्याराग्लाइडिङका गतिविधि अझ वृद्धि हुँदै जानुपर्छ। यसलाई सुरक्षित बनाउनेतर्फ ध्यान पुग्नुपर्दछ, विकासका लागि क्यानको तर्फबाट सहयोग गर्नेछौँ,” उनले भने।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्याराग्लाइडिङले पोखराको समृद्धिमा योगदान गरेकाले यसलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए। भने, “प्याराग्लाइडिङको राम्रोसँग नियमन, अनुगमन र व्यवस्थापन गरी पोखराको ब्रान्डका रूपमा सधैँ स्थापित गर्न आवश्यक छ।”

हवाई खेलकुदको माध्यमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग गर्ने गरी २०५९ सालमा नेपाल हवाई खेलकुद संस्थाको स्थापना गरिएको थियो। सात वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनीबाट संस्था शुरू गरिएकामा हाल ६२ व्यावसायिक कम्पनी छन्।

त्यसैगरी कम्पनीअन्तर्गत ३९९ प्याराग्लाइडिङ पाइलट क्रियाशील छन्।