आफूलाई प्रहरी भन्दै लुटपाट गर्ने दुई जना पक्राउ

लुटपाटमा संलग्न तामाङ र थापा दुवै जागिर छाडेका (पूर्वप्रहरी) रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहाले बताए।

मोरङ– आफूलाई प्रहरी बताउँदै लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ। 

विराटनगर महानगरपालिका १ पानीट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर ४ का ३६ वर्षीय सुनील थापालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले दुई दिनअघि विराटनगर १२ रानीका रविकुमार साह सुडीबाट लाखौँ रकम लुटेको प्रहरीले जनाएको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार प्रहरी हौँ भन्दै धम्क्याएर उनीहरुले लुटपाट गरेको पाइएको छ। लुटिएका पीडित साहले बिमाका लागि तिर्न र बैंकमा जम्मा गर्न लैजाँदै गरेको १२ लाख रूपैयाँ लुटिएको प्रहरीमा बताएका छन् ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट लुटिएको रकम पनि बरामद गरेको जनाएको छ। 

लुटपाटमा संलग्न तामाङ र थापा दुवै जागिर छाडेका (पूर्वप्रहरी) रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहाले जानकारी दिए।