दक्ष नेपाली श्रमिकलाई रोजगारी दिन जर्मनी तयार

संघीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ।

काठमाडौँ– संघीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जर्मनीका श्रम तथा सामाजिक मामिला राज्यमन्त्री लियोनी गेवर्सको उपस्थितिमा हालै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको रोजगारी विभागका अन्तर्राष्ट्रिय मामिला निर्देशक माइकल भान डेर कामेनले नेपाली दक्ष श्रमिकलाई रोजगारी उपलब्ध गराउनेसम्बन्धी आशयपत्रमा हस्ताक्षर गरेको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ।

त्यसअघि दुवै देशका प्रतिनिधिमण्डलबीच भएको वार्तामा दक्ष नेपाली जनशक्तिलाई रोजगारीका अवसर उपलब्ध गराउने, वैधानिक तवरबाट मात्र उनीहरुलाई काममा लगाउने, नेपाली कामदारको हकहितको रक्षा र भाषा तथा व्यावसायिक तालिम दिने विषयमा पनि छलफल भएको थियो।

राज्यमन्त्री गेवर्सले द्विपक्षीय आशयपत्रमा हस्ताक्षर भएपछि संस्थागतरूपमा नेपाली  श्रमिकलाई जर्मनीमा काम गर्न सहज हुने र जर्मनीका रोजगारदाता निकायलाई पनि काममा लगाउन कठिनाइ नहुने बताएको दूतावासले जनाएको छ। 

यसअघि असोज १९ गते नेपाल र राेमानियाबीच पनि श्रम सम्झाैता भइसकेको छ। पछिल्लाे समय नेपालीहरू युराेपेली देशकाे रोजगारीमा जाने क्रम बढेको छ। योसँगै श्रम मन्त्रालयले पनि नयाँ युराेपेली श्रम गन्तव्य देशकाे खाेजी गरिरहेकाे छ।