कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सत्तागठबन्धनको निर्णय

सत्तागठबन्धनले काशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ।

काठमाडौँ– सत्तागठबन्धनले काशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्तारूढ दलका नेताहरूको बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र नेता आङ्बोलाई अघि सार्ने निर्णय गरे हो।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कोशीको मुख्यमन्त्री माओवादीलाई दिने औपचारिक निर्णय भएको जानकारी दिए। “कोशीको मुख्यमन्त्री माओवादीलाई दिने औपचारिक निर्णय भएको छ। त्यसमा माओवादीले इन्द्र आङ्बोलाई अघि सार्ने भनेको छ। हामीबीच सहमति भएको छ,” उनले भने।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीले विश्वासको मत पाउने सम्भावना नदेखेर राजीनामा दिएका थिए। कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कोशी प्रदेश प्रमुख परशुराम खापुङले गत शुक्रबार एक साताभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनको आह्वान गरे थिए। 

प्रदेश प्रमुखको आह्वानअनुसार शुक्रबार अपराह्न ५ बजेभित्र सरकार गठनका लागि प्रदेशसभाका कुनै पनि सदस्यले दाबी पेस गर्न सक्ने छन्। दाबी पेस गरेको सदस्यले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको मत आवश्यक पर्छ।