महँगी र कृत्रिम अभाव नियन्त्रण गर्न सांसदको ध्यानाकर्षण

सांसदहरूले चाडपर्वका बेला कृत्रिम अभाव, कालोबजारी बढेको, गाडीभाडा बढाइएको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि पहल थाल्न आग्रह गरेका छन्।

काठमाडौँ–  प्रतिनिधिसभा सदस्यहरूले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव गराएर महँगी बढाइएको भन्दै त्यसको नियन्त्रणका लागि उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्यहरूले चाडपर्वको बेलामा महँगी बढेको बढाए। दैनिक उपभोग्य खाद्यान्नवस्तुमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको उनीहरूको भनाइ छ।

प्रतिनिधिसभा सदस्य पदम गिरीले बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरिएको बताए। सरकारले कालोबजारीलाई प्रश्रय दिइरहेको उनको आरोप थियो। उनले जनतामाथि खेलबाड नगर्न सरकारलाई चेतावनी दिए।

“बजारमा कालोबजारी मौलाएको छ। सरकारले कालोबजारीहरूलाई प्रश्रय दिने काम गरेको छ। जनतामाथि यति ठूलो खेलबाड सरकार नगरोस्,” उनले भने, “जनताले सहज रूपले उपभोग गर्नलाई कुण्ठित गर्ने काम सरकारको तर्फबाट नहोस् भन्ने माग गर्न चाहन्छु।”

प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सरकारले महँगी नियन्त्रण गर्न नसकेको बताए। उनले सरकारले महँगी नियन्त्रण गर्छ भन्नेमा जनतामा आशा पनि नरहेको सुनाए। उनले सामाजिक सञ्जालमार्फत हुने ठगीका घटना पनि बढिरहेको भन्दै प्रविधिको प्रयोग गरी ठग्ने कार्यको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए। “सरकारले तत्काल सम्बन्धित निकायलाई सक्रिय बनाएर प्रविधिको माध्यमबाट गरिने ठगीलाई अन्त्य गरोस् र त्यस्तो ठगी गर्नेलाई सख्त कारबाही गरोस्,” उनले भने।

प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले उपभोग्यवस्तुको मूल्य अकासिएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताए। उनले कालोबजारी बढेको, कृत्रिम अभाव भएको र गाडी भाडा बढाइएकोतर्फ सरकारको ध्यानाकर्षण गराए।

प्रतिनिधिसभा सदस्य दीपा शर्माले नेपाल भारत सिमानाकामा सुरक्षाकर्मीले चेकजाँचको नाममा हैरानी दिइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमन गर्नुपर्ने उनको भनाइ छ।

प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले किसानले महिनौँदेखि दूधको मूल्य नपाएका भन्दै किसानको रकम तत्काल भुक्तानी गर्न माग गरे।

प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले चाडपर्वको समयमा बजार भाउको नियन्त्रण हुनुपर्ने बताए। दैनिक उपभोग्य सामग्रीहरूको अभावको परिपूर्ति गर्न सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ। 

प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले महँगी र अभावलाई हटाउन अनुगमन हुनुपर्ने बताए। उनले सुलभ खाद्यान्न पसलको व्यवस्था गर्न र सुलभ टिकट र यातायातको व्यवस्था गर्न पनि सरकारसँग माग गरे।

प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले विद्यार्थीलाई नेपालकै विश्वविद्यालयमा शिक्षा प्राप्त गर्न सहज वातावरण बनाउनुपर्ने बताए। उनले विदेशमा हुनसक्ने अन्य विपद्का घटनाप्रति सरकार सजग हुनुपर्ने बताए।

प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले गैरआवासीय नेपालीहरूलाई नागरिकता दिनका लागि गैरआवासीय नेपाली कार्ड अनिवार्य गर्नु नहुने बताए।

“कार्ड अनिवार्य गर्नु र कार्ड लिनका लागि महँगो शुल्क राख्नु नेपाली नागरिकमाथिकै धोका हो। यसलाई सच्याएर सहजै नागरिकता प्राप्त गर्ने वातावरण बनाउन ध्यानाकर्षण गराउँदछु,” उनले भने।