बौद्धमा प्रहरीको गोली प्रहारबाट १ घाइते, २ जना नियन्त्रणमा

बौद्धमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। अन्य दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– काठमाडौँको बौद्धमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् भने अन्य दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। 

“लुटेरा समूहले हाम्रो प्रहरी टोलीमाथि आक्रमण गर्दा आत्मरक्षाका लागि जवाफी फायर गर्दा घनाल घाइते भएका हुन्,” उनले भने। घाइते भएका घनालको एनएम्स अस्पताल, जोरपाटीमा उपचार भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यसैगरी, उक्त घटनामा शान्त लामा र जितेन लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट सात राउन्ड गोली, एउटा पेस्तोलसहित दुई वटा मोटरसाइकल बरामद गरिएको प्रवक्ता रेग्मीले बताए।