दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७० करोडको शेयर कारोबार

बिहीबारको कारोबारमा २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ, जसमध्ये दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २०.१६ अंकले घटेर एक हजार ८७४.६० को बिन्दुमा कायम भएको हो।

बिहीबार २९२ कम्पनीको ७५ लाख ५८ हजार ५४२ कित्ता शेयर ६२ हजार ४६ पटक खरिदबिक्री हुँदा एक अर्ब ७० करोड एक लाख २९ हजार ८१५ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार पछि कुल बजार पुँजीकरण २८ खर्ब ७२ अर्ब नौ करोड ९७ लाख ५७ हजार ४९३ रुपैयाँ कायम भएको छ।

बिहीबार म्युचुअल फन्ड समूहको उपसूचक ०.१६ प्रतिशतले बढ्दा अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक तीन प्रतिशत, निर्जीवन बीमा समूह १.५२ प्रतिशत र जलविद्युत् समूहको उपसूचक १.५९ प्रतिशतले घटेको छ।

बिहीबारको कारोबारमा २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ, जसमध्ये दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र मध्य सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। सबैभन्दा धेरै मूल्य घट्नेमा भने सिटी होटल लिमिटेडको शेयर मूल्य ९.०९ प्रतिशतले घटेको हो।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा बिहीबार सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंक लिमिटेड प्रमोटर शेयर १६ करोड ३८ लाख ४८ हजार ४०० रुपैयाँ बराबरको १६ लाख ३८ हजार ४८४ कित्ता शेयर किनबेच भएको छ।