इजरायलबाट २५३ जना नेपालीलाई लिएर फर्कियो नेवानिको विमान

इजरायलमा उद्धारको प्रतिक्षामा रहेका नेपाली विद्यार्थीलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली बुधबार राति त्यहाँ प्रस्थान गरेको थियो।

तस्वीर: परराष्ट्र मन्त्रालय

काठमाडौँ– इजरायलबाट २५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज फर्केको छ। 

इजरायलमा उद्धारको प्रतिक्षामा रहेका नेपाली विद्यार्थीलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली बुधबार राति त्यहाँ प्रस्थान गरेको थियो। मन्त्री साउदका स्वकीय सचिव दीपक जोशीले इजरायलको तेल अविवस्थित बेन गुरिअन विमानस्थलबाट २५३ जना नेपाली विद्यार्थीलाई लिएर जहाज उडेको जानकारी दिए। जहाज बिहीबार राति काठमाडाैँ आइपुग्नेछ।

परराष्ट्र मन्त्रालयका अनुसार घर फिर्तिका लागि ३५० जनाको विवरण प्राप्त भएकामा २८८ जनाले नेपाल फर्कने इच्छा व्यक्त गरेका थिए। विमानमा नअटेका बाँकी नेपालीलाई भने आवश्यकताअनुसार अर्को विमान पठाउने वा नियमित जहाजबाटै भए पनि ल्याउने व्यवस्था गरिने मन्त्रालयको भनाइ छ। 

गएकाे शनिबार प्यालेस्टिनी विद्राेही समूहकाे आक्रमणमा परी गाजा नजिकका क्षेत्रमा कार्यरत १० जना नेपाली कृषिका विद्यार्थीले ज्यान गुमाएका थिए भने केही घाइते भएका थिए। त्यस नजिकका क्षेत्रमा रहेका अन्य विद्यार्थीहरू उद्धारकाे प्रतिक्षामा थिए।

मृतककाे शव भने अहिल्यै ल्याउन नमिल्ने भएको छ। इजरायल सरकारकाे आफ्नै प्राेटाेकलका कारण ज्यान गुमाएका नेपालीकाे शव तत्काल ल्याउन नसकिने परारष्ट्र मन्त्रालयले जनाएकाे छ।