एक हजार २४७ किलोको फर्सीले तोड्यो विश्व रेकर्ड

जिन्जरले आफूले फलाएको यस फर्सीलाई अमेरिकाका बास्केटबल खेलाडी माइकल जोर्डनको नाम दिएका छन्।

अमेरिकामा एक जना व्यक्तिले विश्वकै सबैभन्दा ठूलो फर्सी फलाएका छन्। मिनिसाेटाका बागवानीका शिक्षक ट्राभिस जिन्जरले एक हजार २४७ किलोको बडेमानको फर्सी फलाएका हुन्। 

यही अक्टाेबर ९ मा अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न ५० औँ विश्व फर्सी च्याम्पियनसिपमा उनको फर्सीले विश्व रेकर्ड तोडेको छ। योभन्दा पहिले सन् २०२१ मा इटालीका कृषकले एक हजार २२६ किलोको फर्सी फलाएर विश्व रकेर्ड राखेका थिए। उनकाे रेकर्डलाई जिन्जरकाे फर्सीले ताेडेकाे हाे। 

पुरस्कृत भएसँगै खुसी व्यक्त गर्दै जिन्जर (राताे ज्याकेट)

जिन्जरले आफूले फलाएको यस फर्सीलाई अमेरिकाका विश्वविख्यात बास्केटबल खेलाडी माइकल जोर्डनको नाम दिएका छन्। उनले अघिल्लो वर्ष एक हजार १६१ किलोको फर्सी फलाएका थिए। उक्त फर्सीले राष्ट्रिय रेकर्ड कायम गरेको थियो। 

उनका अनुसार 'माइकल जोर्डन'लाई फलाउन र त्यसको हेरचाहमा उनले निकै मेहनत गरेका छन्। दिनमा १३ पटकसम्म पानी हाल्ने गरेको उनले बताए। यस्तै गएको अप्रिल १० मा फर्सीको बोट रोपेदेखि १५ हजार अमेरिकी डलर खर्च गरेको उनकाे भनाइ छ।

योसँगै उनले ३० हजार डलर पुरस्कार पाउनेछन्। उक्त पुरस्कारबापतको रकम पनि अर्को फर्सी फलाउनमा लगाउने उनले बताएका छन्। यो फर्सीलाई केही समय प्रदर्शनीको लागि राखिनेछ।

–एजेन्सीबाट