कोशीमा नयाँ विकासक्रम : एमालेको समर्थनमा कांग्रेसका कार्कीको मुख्यमन्त्रीमा दाबी

कांग्रेस नेता शेखर कोइरालानिकट सांसद केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशीको मुख्यमन्त्री दाबी गरेका छन्।

काठमाडौँ– कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्न नेपाली कांग्रेसका सांसद केदार कार्की र नेकपा माओवादी केन्द्रका सांसद इन्द्रबहादुर आङ्बो प्रदेश प्रमुखकहाँ पुगेका छन्। 

बिहीबार बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले कोशीमा नेकपा माओवादी केन्द्रलाई सरकार गठन गर्न दिने सहमति गरेको थियो। माओवादी केन्द्रले मुख्यमन्त्रीका आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो।

उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता शेखर कोइरालानिकट सांसद कार्कीले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। आङ्बोलाई माओवादीसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ।

कोशी प्रदेशप्रमुखको कार्यालयका सूचना अधिकार रामकुमार श्रेष्ठले कार्की र आङ्बो मुख्यमन्त्रीमा दाबी पेस गर्न कार्यालयमा आएको जानकारी दिए। “दुवै पक्ष कार्यालयमा आउनुभएको छ। मुख्यमन्त्रीको दाबी पेस गर्ने प्रक्रियाको क्रममा उहाँहरू प्रतीक्षामा हुनुहुन्छ,” उनले भने। 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको मत चाहिन्छ। नेकपा एमालेका ४० सांसद रहेका छन्। कार्कीको पक्षमा ८ सांसद रहेको बताइएको छ। संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्ने सांसदलाई पार्टीको ह्वीप नलाग्ने सर्वोच्च अदालतको व्याख्या छ। यस्तोमा कार्की मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिन्छ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका एमालेका हिक्मत कार्कीले विश्वासको मत पाउने सम्भावना नदेखेर गत शनिबार राजीनामा दिएका थिए।

कोशी प्रदेश प्रमुख परशुराम खापुङले गत शुक्रबार एक साताभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनको आह्वान गरे थिए। उनले दिएको समयसीमा शुक्रबार सकिँदै छ।