सहयात्रीमा नै शान्तिप्रक्रियाबारे नकारात्मक प्रवृत्ति देखियो : प्रधानमन्त्री

शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन माओवादी केन्द्र र सरकारजस्तो इमानदार प्रतिपक्षी दल नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्तिप्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको बताएका छन्।

द्वन्द्वपीडित परिवारका आफन्त तथा परिवारले ‘संक्रमणकालीन न्याय प्रक्रियामा पीडितकेन्द्रित दृष्टिकोण र समाधानको बाटो’ विषयक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बुझ्दै प्रधानमन्त्री दाहालले भने, “शान्ति प्रक्रिया टुंग्याउने विषयलाई पेचिलो बनाउने तथा प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सकस पैदा गर्ने कोशिश भइरहेको छ। शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्तिप्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको छ।”

प्रधानमन्त्री दाहालले विभिन्न चुनौतीबीच आफूले माओवादी जनयुद्धमा संलग्न र द्वन्द्वबाट पीडित भएका सबैका समस्या समाधान र उनीहरूका पीडा पक्ष विपक्ष नभनेर समाधानको प्रयास गरिराखेको उल्लेख गरे। द्वन्द्वपीडित  प्रहरीका परिवारलाई समेत आफूले भेटेको उनको भनाइ थियो।  

पछिल्लो पटक आफू संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा नेपालले भोगिरहेको समस्या र नेपालको शान्तिप्रक्रियाबारे विश्वको ध्यान आकर्षण हुने गरी महासभामा विषयको उठाउन गरेको प्रधानमन्त्री दाहालले बताए। “मैले नेपालको शान्तिप्रक्रिया मौलिक भएको र यसबाट विश्वले सिक्न सक्ने भन्दै महासभामा सम्बोधन  गर्दा अन्तर्राष्ट्रिय रूपमा नै तरंग फैलिएको छ, महासभामा नेपालको शान्ति प्रक्रियालाई गम्भीर रूपले बलियोसँग राखिएको छ। यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण मात्रै गरेको नभई बधाई र धन्यवाद दिनेको ताती नै लागेको थियो,” उनले भने।

आफूले महासभामा नेपालको संक्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउँदा त्यसले अन्तर्राष्ट्रिय जगतमा एउटा नयाँ उदाहरण प्रस्तुत गर्ने भएकाले सबैले नेपालको शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन मद्दत गर्नुपर्ने धारणा राखेको प्रधानमन्त्री दाहालले बताए। संयुक्त राष्ट्रसंघको महासभामा आफूले महासचिव एन्टोनियो गुटेरेसलाई नेपालले जलवायु परिवर्तनका कारण भोगेको समस्या र नेपालको शान्तिप्रक्रियाका साथै पीडितको कुरा सुन्न नेपाल भ्रमणको निमन्त्रणा दिएको उनले बताए।  

महासचिव गुटेरेससँग नेपालको शान्तिप्रक्रिया र चुनौती बारेमा छलफल गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले उहाँको नेपाल भ्रमणले न्याय प्रक्रियाको टुंगो लगाउन, नेपालको शान्तिप्रक्रिया नजिकबाट हेर्न, नेपालले भोगिराखेको वातावरणीय समस्या तथा यसको प्रभावबारे बुझ्न मद्दत पुग्ने बताए। 

“शान्ति प्रक्रियालाई राजनीतिक तहमा  यसअघि भएका सहमति अनुसार टुंगोमा पुर्‍याउन निरन्तर छलफल गरिराखेको छु। राजनीति दलसँग टीआरसी विधेयकमा सहमति जुटाएर एकमत कायम गर्न शान्ति  प्रक्रियामा सहभागी सबै दल र अरूलाई पनि समेटेर लैजाने प्रयास गरिरहेको छु,” उनले भने। शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन माओवादी केन्द्र र सरकारजस्तो इमानदार प्रतिपक्षी दल नभएको उनको भनाइ थियो।