अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन गर्नुपर्नेमा सांसदको जोड

सांसद डा. विमला राई पौड्यालले अपांगता भएका व्यक्तिलाई नीति निर्माण र निर्णय प्रक्रियामासमेत सहभागी गराउनुपर्ने बताइन्। 

काठमाडौँ– राष्ट्रिय सभाका सांसदले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। 

राष्ट्रियसभाको शुक्रबारको बैठकमा अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्दै अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनमा जोड दिएका हुन्। सांसद शारदादेवी भट्टले अपांगता भएका व्यक्तिले पाएका सेवा, सुविधा कटौती गर्नु नहुने बताइन्। 

“अपांगता भएका व्यक्तिको जीवनयापनको लागि नीतिगत व्यवस्था गर्न, अपांगता भएका व्यक्तिलाई छुट्टै बजेट विनियोजन गर्न, राज्यले दिने अधिकारबाट वञ्चित नगराउन, सेवा सुविधामा कटौती नगर्ने व्यवस्था सुनिश्चितताका लागि सरकारसँग माग गर्छु,”उनले भनिन्, “अपांग भएका व्यक्तिलाई सम्मानजनक तरिकाले हेरियोस्।”

सांसद तुलप्रसाद विश्वकर्माले अपांगता भएका व्यक्तिको हक,हित र अधिकारका लागि बनेका कानून कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए। 

सांसद भगवती न्यौपानेले अपांगता भएका व्यक्तिलाई सीपमूलक र व्यावसायिक तालिम दिनुपर्ने बताइन्। 

सांसद खिमलाल देवकोटाले संघीयताको सवलिकरण भए मात्र अपांगता भएकालगायत समाजका सबै वर्ग र समुदायको अधिकार सुनिश्चित हुने धारणा राखे। 

सांसद रमेशजंग रायमाझीले सरकारले कानून र सन्धि, सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताए। सरकारले कानून कार्यान्वयनको अवस्था कस्तो छ भनी हेर्नुपर्ने उनको भनाइ थियो। 

सांसद वामदेव गौतमले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन गर्न सरकारले कानून र नियमावलीमा संशोधन गरेर सबै विषय समावेश गर्नुपर्ने बताए। आवश्यक परेमा संविधान संशोधन गर्न पनि तयार हुनुपर्ने उनको भनाइ छ। 

सांसद डा. विमला राई पौड्यालले सबै खालका संरचना अपांगतामैत्री बनाउनुपर्ने बताइन्। अपांगता भएका व्यक्तिहरू घरमा बस्ने वातावरण नभए ‘केयर होम’ आवश्यक भएको र उनीहरूलाई नीति निर्माण र निर्णय प्रक्रियामासमेत सहभागी गराउनुपर्ने उनको भनाइ छ।