सिंहदरबारअगाडि शान्ति समाजको प्रदर्शन, १६ जना पक्राउ

विस्तृत शान्ति सम्झौताको मर्मअनुरूप पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै शान्ति समाजले सिंहदरबारअगाडि विरोध प्रदर्शन गरेको छ।

काठमाडौँ– मानवअधिकार तथा शान्ति समाजले सिंहदरबारको दक्षिण गेटअगाडि विरोध प्रदर्शन गरेको छ। शुक्रबार विस्तृत शान्ति सम्झौताको मर्मअनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न, संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानवअधिकारमैत्री बनाउन, फागुन १ गते ‘जनयुद्ध दिवस’का नाममा बिदा दिने निर्णय शीघ्र खारेज गर्न, कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्न माग गर्दै शान्ति समाजले विरोध प्रदर्शन गरेको हो।


प्रदर्शन प्रारम्भ हुनासाथ प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाडौँ शाखा सभापति भगवान् पुडासैनी, अधिकारकर्मीहरू विकास थापा, सानु लामा, रिता अधिकारी, ईश्वर पुडासैनी, तुलसीराम भण्डारी, नानीकाजी गिरी, मनबहादुर थापा, नरेन्द्रमान श्रेष्ठ, मधु पुडासैनी, द्वन्द्वपीडित साझा चौतारीका कावा अध्यक्ष कल्याण बुढाथोकी, माओवादी पीडित संघका अध्यक्ष धर्मराज न्यौपानेसहित १६ जनालाई गिरफ्तार गरी नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखेको छ।


प्रदर्शनमा सहभागीले ‘हत्या हिंसा महिमामण्डन गर्न पाइँदैन’, ‘कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ’, ‘पिडकलाई आम माफी दिने नियतले भइरहेको चलखेल बन्द गर’, ‘हिंसा र आपराधीकरणलाई बढवा दिने काम बन्द गर’, ‘महँगीले ढाड भाँच्यो, नागरिकलाई राहत खोइ?’, ‘हत्यालगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन सक्दैन’, ‘कैद माफी गर्दा तलदेखि माथिसम्म भएको आर्थिक चलखेलबारे छानबिन गर’, ‘ललितानिवास जग्गा घोटालामा अदालतको आदेशअनुरूप छानबिन किन नगरेको?’, ‘सुनकाण्डका नाइकेलाई कारबाही खोइ?’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।