चाडपर्व मनाउन जानेको यात्रा सहज र सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण

सांसदहरूले हवाई तथा स्थलमार्गको यात्रा सहज बनाउन, टिकटमा भइरहेको कालोबजारी रोक्न, बजारको प्रभावकारी अनुगमन गर्न सकारको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– सांसदहरूले चाडपर्व मनाउन जाने यात्रुहरूको यात्रा सुरक्षित र सहज बनाउन, आकासिएको मूल्यवृद्धि नियन्त्रण गर्न लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले हवाई तथा स्थल मार्गको यात्रा सहज बनाउन, टिकटमा भइरहेको कालोबजारी रोक्न, बजारको प्रभावकारी अनुगमन गर्न सकारको ध्यानाकर्षण गराएका हुन्।

प्रतिनिधिसभा सदस्य विमला सुवेदीले खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्नका लागि प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले चाडपर्व मनाउन जानेहरूलाई सुरक्षित र सहज रूपमा गन्तव्यमा पुग्ने वातावरण बनाउन सरकारसँग आग्रह गरिन्। 

“हवाई यातायात तथा स्थलगत रूपमा सञ्चालन हुने यातायातमा हुने गरेको ठगी नियन्त्रण गरी यात्रुहरूको सहज यात्राका लागि विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँदछु,” उनले भनिन्।

प्रतिनिधिसभा सदस्य भीमप्रसाद आचार्यले स्थानीय तहका कर्मचारी र शिक्षकका समस्याप्रति सरकार बेखबर बनेको बताए। उनले वीर अस्पतालबाट स्वास्थ्यकर्मीलाई अन्यायपूर्ण ढंगले निकालिएको बताउँदै देशमा कालोबजारी भइरहँदासमेत सरकार बेखबर बनेको गुनासो गरे।

“वीर अस्पतालबाट अन्यायपूर्ण ढंगले डाक्टरलाई निष्कासन गरिएको छ, स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ, डेंगी संक्रमण राजधानीमा बढेको छ। कालोबजारी चर्को छ। यस्तो अवस्थामा सरकार कहाँ छ?” उनले भने।

प्रतिनिधिसभा सदस्य मनिष झाले भूकम्पग्रस्त क्षेत्र बझाङमा यातायातको सरल व्यवस्था गर्न सरकारसँग माग गरे। चाडपर्वका बेला सहज वातावरण बनाइदिएर राज्य र सरकार छ भन्ने अनुभूति दिलाउनुपर्ने उनको भनाइ छ। “राज्यको आवश्यक उपस्थिति चाडपर्वको बेलामा भइदेओस् र सबैलाई राज्य छ, सरकार छ र कसैले हेर्दै छ भन्ने कुराको अनुभूति भइदेओस्,” उनले भने।

प्रतिनिधिसभा सदस्य माधव सापकोटाले नेपालको उत्पादन पद्धतिबारे नयाँ ढंगले सोचेर संरचनागत परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले विद्यमान आर्थिक संकट र चुनौतीलाई संरचनागत परिवर्तनमार्फत आर्थिक क्रान्तिमा बदल्नुपर्ने बताए।

प्रतिनिधिसभा सदस्य रघुजी पन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विजयादशमीको शुभकामना दिँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, नेपाली भूमि र नेपाली जनताको स्वाभिमानको कदर गर्न आग्रह गरे।

प्रतिनिधिसभा सदस्य रणेन्द्र बरालीले दशैँको समयमा हुने गाडी दुर्घटनाप्रति सरकार बेलैमा सचेत हुनुपर्ने बताए। उनले दशैँमा दलित समुदायलाई मन्दिर प्रवेशमा रोक लगाउँदा झडप हुने सक्ने भन्दै यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए।

प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले दशैँको समयमा डेंगीको संक्रमण बढेको भन्दै लामखुट्टे मार्न सरकारले पहल गर्नुपर्ने बताए। उनले नेपाल एयरलाइन्सका टिकट महँगोमा बिक्री भइरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए। “महँगी बढेको छ, कालोबजारी बढेको छ, यसको नियन्त्रणमा सरकार अगाडि बढोस्,” उनले भने।