एमसीसीअन्तर्गत प्रसारण लाइनका ठेक्का रद्द, नयाँ ठेक्का आह्वान हुने

एमसीए–नेपालले प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा अनुमानभन्दा उच्च लागत प्रस्ताव आएको भन्दै ठेक्का रद्द गरिएको जनाएको छ।

काठमाडौँ– अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत प्रसारण निर्माणका लागि सबै ठेक्का रद्द भएको छ। एमसीए–नेपालले शुक्रबार सूचना जारी गर्दै प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा अनुमानभन्दा उच्च लागत प्रस्ताव आएको भन्दै ठेक्का रद्द गरिएको जनाएको हो।

अमेरिकास्थित एमसीसी मुख्यालयले हालको ठेक्का प्रक्रिया रोकेर नयाँ आह्वान गर्नुपर्ने राय दिएपछि ठेक्का रद्द गरिएको हो। एमसीए–नेपालले गत मंसिर १२ सूचना जारी गर्दै करिब ३१५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि ठेक्का आह्वान गरेको थियो। एमसीए–नेपालले अनुमान गरेभन्दा ६७ प्रतिशत बढीको रकम कबुलेर बोलपत्र परेपछि ठेकेदार छनोटमा अन्योल भएको थियो।

प्रसारण लाइन तीन खण्डमा निर्माण गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो। जसअन्तर्गत पहिलो चरणमा लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा ११७ किलोमिटर, दोस्रो चरणमा रातमाटे–न्यु दमौली सब–स्टेसनसम्म ९० किलोमिटर र तेस्रो चरणमा न्यु दमौली–न्यु बुटवलबाट भारतीय सीमासम्म १०८ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने भनिएको थियो। एमसीए–नेपालका अनुसार अब प्रसारण लाइन निर्माणका लागि नयाँ ठेक्का आह्वान हुनेछ।

सम्झौता भएको ६ वर्षपछि एमसीसी परियोजना गत भदौ १३ गतेबाट ‘इन्ट्री इन्टु फोर्स’ कार्यान्वयन चरणमा गएको छ। अबको ५ वर्षभित्र एमसीसी परियोजना सम्पन्न हुन नसके पूरा गर्ने दायित्व सरकारमा थपिन्छ। एमसीसीमार्फत रकम पाउने छैन र नेपालले आफैँ बेहोर्नुपर्छ। सोही कारण परियोजना आयोजना समयमै सम्पन्न गर्नुपर्ने दबाब छ।

ऊर्जा र यातायात क्षेत्रका पूर्वाधार विकासमा ५० करोड अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा एमसीसी र नेपाल सरकारबीच २०७४ भदौ  २९ हस्ताक्षर भएको थियो। नेपालमा राजनीतिक विवाद उत्पन्न भएपछि गत वर्ष फागुन १५ गते मात्र १२ बुँदे व्याख्यात्मक घोषणासहित सम्झौता प्रतिनिधिसभाबाट पारित भएको थियो।