केदार कार्कीसहितका बहुमत सांसद प्रदेश प्रमुखको कार्यालयमा

कार्कीसहित आठ कांग्रेस सांसदहरूले आफूहरूको हस्ताक्षर दुरुपयोग गर्दै आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेको बताउँदै आएका छन्।

विराटनगर– बहुमत सांसद उपस्थित भएर कोशीमा मुख्यमन्त्रीका दाबेदार केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका छन्।

कांग्रेसका आठ र नेकपा एमालेका २९ सांसद प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेर कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका हुन्। एमाले र कांग्रेसका गरी ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका हुन्।

मुख्यमन्त्रीमा गठबन्धन दलतर्फबाट माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेस गरेका छन्। केन्द्रमा भएको माओवादीलाई समर्थन गर्ने सहमतिको विरोधमा कांग्रेसको शेखर कोइराला पक्षका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

कार्कीसहित आठ कांग्रेस सांसदहरूले आफूहरूको हस्ताक्षर दुरुपयोग गर्दै आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेको बताउँदै आएका छन्। प्रदेश प्रमुखका अगाडि प्रत्यक्ष उपस्थित भएर कार्कीको समर्थनमा रहेको भन्दै उनलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरिएको एक सांसदले बताए।

माओवादीका आङ्बोले कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा) का एक सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन्। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका थिए।