दबाब, तनाव र चुनौतीका बीचमा छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीति मात्रै नभई अन्यत्र पनि समाज भएको अनुभूति भएको बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिकर्मीहरूलाई दबाब, तनाव र चुनौती धेरै हुने बताएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा, २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू दबाब, तनाव र चुनौतीका बीचमा रहेको बताएका हुन्।

उनले पछिल्लो समय आफूलाई राजनीति मात्रै नभई अन्यत्र पनि समाज भएको अनुभूति भएको सुनाए। “समाज भनेको राजनीति मात्रै होइन, अरू पनि पक्ष छन् जस्तो लागेको छ। धर्म, जिम्मेवारीको अर्को झनै महत्त्वपूर्ण पाटो छ, जस्तो महसुस भयो,” उनले भने।

कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशलाई सडक मानवमुक्त घोषणा गर्ने सरकार प्रतिबद्ध रहेको बताए। सबै मिलेर सडक मानवमुक्त देश बनाउनुपर्ने उनको भनाइ छ।

“देशलाई सडक मानवमुक्त घोषणा गर्ने कुरा जुन नीति, कार्यक्रममा राख्यौँ, वास्तवमै भन्ने हो भने त्यो मानव सेवा आश्रमको काम होइन। सरकारको काम हो। हामी सबै मिलेर सडक मानवमुक्त देश बनाउने भनेर घोषणा गरेका हौँ। सरकारको तर्फबाट सकेसम्म सहयोग गर्नेछौँ,” उनले भने।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मानव सेवा आश्रमले राम्रो काम गर्दै आइरहेको बताए। मानव सेवामा लाग्ने व्यक्ति पूजनीय हुने भन्दै उनले यात्राको सफलताको शुभकामना दिए।

कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव सेवा जस्तो पुण्यको काम कतै नभएको बताए। उनले सडकमा बसेका असह्यको सहयोगी बन्नुजतिको ठूलो काम अन्यत्र नभएको बताए। राज्यले मानव सेवा आश्रमलाई सहयोग गर्नुपर्ने र सबै जिम्मेवारी बेहोर्नुपर्ने उनको भनाइ छ।