पुस्तक लेखनका क्रममा क्यान्सर भएको, त्यतिबेला आफ्नो स्वास्थ्यको भन्दा लेख्न नपाउने हो कि भन्ने चिन्ताले आफूलाई पिरोलेको लेखक लम्सालको भनाइ छ।
काठमाडौँ– पत्रकार एवं लेखक अमृता लम्सालको ‘मिडिया, महिला र म’ पुस्तक सार्वजनिक भएको छ। शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा लेखककी आमा जयन्ती लम्साल, प्राध्यापक पी. खरेल, प्राध्यापक डा. सुचेता प्याकुरेललगायतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।
प्राध्यापक खरेलले लम्सालको यो पुस्तक मिडिया, पत्रकार र महिला सशक्तीकरणका लागि मात्र नभई र प्राज्ञिक संस्थाका निम्तिसमेत उपयोगी रहेको बताए। लेखक लम्सालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा महिलाका सवालमा आवाज उठाउँदाको अनुभव पनि पुस्तक पढ्दा पाइने उनको भनाइ छ।
“महिला सशक्तीकरण र समानतामा लेखक तीन दशकदेखि निरन्तर हुनुहुन्छ। उहाँले सडक र सामाजिक सञ्जालमा बोलेको आवाज होस् या लेख, रचनामार्फत दिएको आवाज होस्, उत्तिकै सशक्त र तिखा छन्,” उनले भने, “लेखकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा समेत महिलाका आवाज उठाइरहनु भएको छ। उहाँको यो अनुभव पनि पुस्तकमा पढ्न पाइन्छ।”
प्राध्यापक खरेलले स्वतन्त्रपूर्वक महिलाका मुद्दाहरू निरन्तर उठाउँदा पनि पत्रकार लम्साललाई राज्य तथा सरोकारवाला निकायले उचित सम्मान नगरेको गुनासो गरे।
पुस्तकमाथि टिप्पणी गर्दै प्राध्यापक डा. प्याकुरेलले लेखक लम्सालले आफ्ना र मिडिया क्षेत्रमा काम गर्ने पत्रकार महिलाको अनुभव समेट्दै लैंगिक सवालका अनेक सिद्धान्त र इतिहासलाई पुस्तकमा सरल, सहज रूपमा प्रस्तुत गरेको बताइन्।
“महिलाका मुद्दाहरूलाई लिएर जे जति अन्तर्राष्ट्रिय आन्दोलन शुरू भएका थिए, ती आन्दोलनबारे पुस्तकमा सहज रूपमा व्याख्या, विश्लेषण गरिएको छ,” डा. प्याकुरेलले पुस्तकमाथि चर्चा गर्दै भनिन्, “जुन विषय विश्वविद्यालयको कोर्समा अध्ययन गर्नुपर्छ।”
मुलुक द्वन्द्वमा रहँदा लम्सालले पत्रकारितामार्फत गरेका स्थलगत रिपोर्टिङले आम पत्रकारलाई प्रेरित गर्ने डा. प्याकुरेलको भनाइ छ।
महिलाको हकहितका लागि निरन्तर आवाज उठाउँदा सहकर्मीहरूले अति महिलावादी भएको टीकाटिप्पणी गर्ने गरेको तर त्यसलाई आलोचनात्मक चेत राखेर आफू अगाडि बढेको लेखक लम्सालले सुनाइन्।
“शुरूदेखि नै महिलाका मुद्दामा ठाडो लेख्न, प्रस्तुत हुन थालेँ। यसरी लेख्दा धेरैले चित्त दुखाउनुभयो। कतिपयलाई रिस पनि उठ्यो। तर त्यस्तो स्थितिबाट अगाडि बढेँ, कहिले रोकिइनँ,” लम्सालले भनिन्, “त्यसैको प्रतिफल स्वरूप यो किताब निस्किएको हो। यो किताब मजस्तै संघर्ष गर्ने सबै महिलामा समर्पित छ।”
पुस्तक लेखनका क्रममा क्यान्सर भएको स्मरण गर्दै त्यतिबेला आफूलाई स्वास्थ्यको भन्दा लेख्न नपाउने हो कि भन्ने चिन्ताले पिरोलेको लेखक लम्सालले बताइन्। साथीभाइको प्रेरणाले आफूलाई आत्मबल प्राप्त भई लेखनकार्यलाई अगाडि बढाएको उनको भनाइ छ।
काठमाडौँको सम्पन्न परिवारमा जन्मिए पनि लम्साल बाल्यकालदेखि नै विभेद र उत्पीडनविरुद्ध सक्रिय थिइन्। २०५० सालदेखि पत्रकारिता शुरू गरेकी लम्सालले तीन दशकसम्म मिडियामा सक्रिय भूमिका निर्वाह गरिन्। यसअघि उनको ‘हजुरआमाका कथा’ पुस्तक प्रकाशित छ।
‘मिडिया, महिला र म’ पुस्तक अक्षर क्रिएसन्स नेपालले प्रकाशनमा ल्याएको हो। पुस्तक लोकार्पण कार्यक्रममा प्रकाशक डा. अर्चना थापाले पुस्तक लेख्दालेख्दै लेखक बिरामी परे पनि उनको आत्मबल बलियो भएका कारणले पुस्तक सार्वजनिक हुन सफल भएको बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
